‘जनतामाथि अपराध गर्ने तत्वलाई जनताको अदालतमा उभ्याउछौँ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीेले जनतामाथि अपराध गर्ने तत्वलाई जनताको अदालतमा उभ्याउने ठोकुवा गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी सुर्खेतद्वारा शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो ठोकुवा गरेका हुन्।
प्रवक्ता प्रकाण्ड सीेले नेकपाले देश र जनमुक्तिको लागि संघर्ष गरि रहेको ठोकुवा गर्दै भने- ‘हामी देश र जनताको मुद्धा लिएर संघर्ष गरेका हौं, कुनै सामाजिक अपराध गरेका छैनौँ। यो दलाल संसदीय व्यवस्थाको अदालतमा हामी हाजिर हुन जादैनौँ, मुद्धा सहमति अनुसार खारेज हुनुपर्छ, होइन भने हामीले जनतामाथि अपराध गर्ने तत्वलाई जनताको अदालतमा उभ्याउनेछौँ ।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीेले वर्तमान राजनीतिक समस्या समाधानको विकल्प नेपाली विशेषताको समाजवाद भएको ठोकुवा गर्दै समाजवादी क्रान्तिमा साथ दिन सबैलाई अपिलसमेत गरे ।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले सरकार तीन बुँदे सहमति विपरित फासिवादी अभ्यासमा जान खोजे त्यसको सशक्त प्रतिवाद गरिने चेतावनी दिदै भने- ‘यो सरकारले तीन बुँदे सहमति विपरित गतिविधि गरिरहेको छ, अहिलेसम्म आफ्नो नेता कार्यकर्तामाथिका झुट्टा मुद्धा फिर्ता लिएको छैन, मुद्धा फिर्ता लिन केही नेपाल ऐन सशोधन गर्न बनेको धारा ६४ को संशोधन प्रावधान फिर्ता लिने भनेको छ, यी क्रियाकलापहरु तीन बुँदे सहमति विपरित छन्, यो ओली सरकारको फासिवादी अभ्यास हो, यदि त्यसो भए हामी प्रतिवाद गर्छौँ ।’
प्रवक्ता प्रकाण्ड सीले आफ्नो पार्टी शान्तिपूर्ण माध्यमबाट नेपालमा देश र जनताको समस्याहरु समाधान गर्न चाहेको प्रष्ट्याउदै सरकारले दमन र हिंसाको बाटो लिन खोजे सशक्त प्रतिवाद गर्नुको विकल्प नभएको उद्घोष गरे ।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीेले आगामी निर्वाचनमा नेकपा सहभागी हुने निर्णय भएको जानकारी दिदै नेकपाका नेता कार्यकर्तामाथि लगाइएका सम्पूर्ण झुट्टा मुद्धा तत्काल खारेज गर्न आग्रह गरे । उनले भने- ‘अहिलेको व्यवस्था पूर्ण असफल भयो, यसको विकल्प चाहिन्छ। सबै विकल्पकाेबारे सबैतिर बहसमा भएको छ, नेपालमा संविधान संशोधनको कुरा उठिरहेको छ यो कांग्रेस एमालेले पनि उठाएका छन्, उहाँहरु संविधान संशोधनको कुरामा अगाडि बढेर गर्नु हुन्छ कि पछाडि फर्केर गर्नु हुन्छ त्यो त हेर्न बाँकी छ ।’
प्रवक्ता प्रकाण्डले नेपाल कम्युनिष्ट पार्टी ०८४ को निर्वाचनमा सहभागी हुने भएपछि दलालहरु षड्यन्त्रमा लागेको ठोकुवा गर्दै कर्णालीको विकासमा अहिले पनि काठमाडौँले उपेक्षा गरेको बताए । उनले भने- ‘कर्णालीको विकासका लागि सबै कर्णालीवासीहरु एकताबद्ध हुनुपर्छ, समाजवादका लागि एक ठाउँमा उभिनुपर्छ, समाजवाद विना उत्पीडित क्षेत्र, जाति र समुदायको मुक्ति हुँदैन ।’