नेकपा : माओवादी र क्रान्तिकारी शक्तिहरुसंग मोर्चा,ध्रुविकरण र एकताको पक्षमा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेकपा माओवादी र क्रान्तिकारी शक्तिहरुसंग मोर्चा,ध्रुविकरण र एकताको पक्षमा रहेको प्रष्ट्याएका छन्। सो पार्टीद्वारा नवौँ केन्द्रीय समितिको छैठौं पूर्ण बैठकले गरेका निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा प्रष्ट्याएका हुन्।
महासचिव विप्लव सीले पार्टीको केन्द्रीय समितिको बैठकले विचार संश्लेषण गर्ने, राष्ट्रघात,भ्रष्टाचार कमिसन विकृति विरुद्ध संघर्ष गर्ने, पार्टी दर्ता गरी क्रान्तिको एउटा मोर्चाको रुपमा आगामी ०८४ को निर्वाचन प्रयोग गर्ने, माओवादी क्रान्तिकारी शक्तिहरुसंग मोर्चा,ध्रुविकरण र एकतामा जोड दिने, पूर्वपश्चिम जनमार्च अभियान संचालन गर्ने, सी संस्कृति सम्वन्धि सांस्कृतिक अभियान चलाउने, जनसाँस्कृतिक तथा प्रगतिशील मञ्च बनाउने लगायतका निर्णयहरु गरेको बताए ।
महासचिव विप्लव सीले नेपालमा दलाल पुँजीवाद र साम्राज्यवादले परनिर्भर बनाएको ठोकुवा गर्दै भने- ‘जतावाट आउछ उतै फर्किने नेपालको अर्थतन्त्र भयो, यसको जरा छैन, यो आकासवेली जस्तो भयो, यसलाई नयाँ आर्थिक मार्गले समाधन दिनु पर्छ ।’
महासचिव विप्लव सीले नेपालकै माटो,साधन र श्रोत प्रयोग गरेर आत्मनिर्भर हुदै समृद्धितिर जाने अर्थतन्त्र चाहिएको उल्लेख गर्दै त्यसका लागि पार्टीले नयाँ र्आिर्थक मार्ग ल्याएको बताए ।

यसैगरी, महासचिव विप्लव सीले कोशी प्रदेशलाई पहिचानको आधारमा किराँत –लिम्वुवान प्रदेश नामकरण गरिनु पर्ने बताए । उनले पूर्वमा विगत लामो समयदेखि प्रदेश नामकरणमा कोशी प्रदेश राखेर पहिचान ओझेलमा परेको बताउदै त्यसलाई नेकपाले पहिचान स्थापितका लागि किराँत– लिम्वुवान प्रदेश नामकरणमा पार्टीले पहल गर्ने बताए ।
महासचिव विप्लव सीले जनयुद्धमा माओवादीले पहिचानको नारा स्थापित गरेपनि संविधान बनाउनदा पहिचान गुमाउने गरेर संघीयता बनेको उल्लेख गर्दै १० बर्ष पहिले आफ्नो पार्टीले यो संविधानले जनताको समस्या समाधान दिदैन भनेर गरेको विश्लेषण अहिले आएर पुष्टि भएको बताए । उनले नेपालमा नेपाली विशेषताको समाजवाद विना देश र जनताको समस्या समाधान नहुने ठोकुवासमेत गरे ।

यसैगरी, महासचिव विप्लव सीले सामान्य जनताले सहकारीमा जम्मा गरेको रकमबाट मासिक ५-६ लाखको तलब खानु गलत भएको बताए। उनले सहकारी पीडितलाई रकम फिर्ता गराउन सरकारले प्रभावकारी कदम चाल्नुपर्ने भन्दै पीडितलाई न्याय दिलाउन पार्टीको तर्फबाट पनि कार्यदल बनाइएको बताए । उनले भने-‘सहकारी पीडितलाई न्याय दिलाउन हामी गम्भीर छौँ । त्यसका लागि कार्यदल बनाएका छौँ । सामान्य जनताले सहकारीमा जम्मा गरेको स–साना रकम एउटा मान्छेले ५/६ लाख तलब खानु सहकारी सिद्धान्त विपरीत छ। हामी सरकारले थालेको कारबाहीप्रति सकारात्मक छौँ । सहकारी ठगीमा मुछिएका जीवी राईलगायतलाई पनि तत्काल सरकारले झिकाओस् भन्ने हाम्रो आग्रह छ। ‘