नेकपाका प्रवक्ता प्रकाण्ड सी र प्रधानमन्त्री ओलीबीच देशको अवस्था र बिकसित घटनाक्रमका बिषयमा गम्भीर छलफल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मंगलबार प्रधानमन्त्री निबास बालुवाटारमा भेटवार्ता भएको छ। उक्त भेटवार्तामा देशको वर्तमान अवस्था र बिकसित राजनीतिक घटनाक्रमका बिषयमा गम्भीर छलफल भएको बताइएको छ।
प्रवक्ता प्रकाण्ड सी र प्रधानमन्त्री ओलीबीच भएको उक्त भेटवार्तामा प्रतिगामी तत्व र दलालहरु गणतन्त्र र परिवर्तनबिरुद्ध षडयन्त्र गर्न ताल्लिन रहेको र बाह्य शक्तिको आशिर्वाद प्राप्त गर्न दौडधुप गरि राखेको बिषयमा समेत गम्भीर छलफल भएको बताइएको छ।
यसैगरी, उक्त भेटवार्तामा गणतन्त्रको रक्षा , वर्तमान अवस्थामा देश र जनताका सामु रहेका समस्याका समाधानका लागि क्रान्तिकारी र प्रगतिशील शक्तिबीचको आगामी सहकार्यका बिषयमा समेत गम्भीर छलफल भएको बताइएको छ।
यसैगरी, प्रवक्ता प्रकाण्ड सी र प्रधानमन्त्री ओलीबीच भएको उक्त भेटवार्तामा तत्कालिन केपी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको ३ बुँदे सहमति लागू गर्ने बिषयमा समेत छलफल भएको र ३ बुँदे सहमति कार्यन्वयन गर्न थप गृहकार्य अगाडि बढाउने समझदारी समेत भएको बताइएको छ।
यसैगरी, उक्त भेटवार्तामा जनपहल, जनसंघर्ष र जनपरिचालनको माध्यमवाट परिवर्तनको दिशालाई अगाडि बढाउने समझदारी समेत भएको बताइएको छ।
स्मरणीय छ, २०७७ फाल्गुन २१ गते तत्कालिन केपी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको ३ बुँदे सहमतिमा दुवै पक्ष– नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी, देशको राजनैतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न, नेपाल कम्युनिष्ट पार्टी आफ्ना सबै राजनैतिक क्रियाकलापहरु शान्तिपूर्णरुपमा संचालन गर्न र नेपाल सरकार नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुको रिहाई र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको थियो । यो सहमतिको नेपाल कम्युनिस्ट पार्टीले अक्षरश : पालना गरेपनि सरकारले भने पूर्णरुपमा कार्यान्वयन गरेको छैन।