पाथीभरा मन्दिरमा ३ करोड ११ लाख भेटी सङ्कलन

काठमाडौँ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एक वर्षको अवधिमा ३ करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१–८२ मा मन्दिरमा तीन करोड ११ लाख ६४ हजार ६७६ रुपैयाँ भेटी रकम संकलन भएको छ । सबैभन्दा बढी भेटी वैशाख र चैत महिनामा सङ्कलन भएको बताइएको छ । वैशाखमा ६० लाख ९० हजार ८१५ रुपैयाँ र चैत महिनामा ५० लाख पाँच यस रुपैयाँ भेटी सङ्कलन भएको छ । विशेष गरी चैत्र, वैशाख र दशैँ तिहारलाई पाथीभरा सिजनको रूपमा लिने गरिन्छ । गत आर्थिक वर्षमा भने ३ करोड ९८ लाख ४१ हजार ९५८ रुपैयाँ भेटी सङ्कलन भएको थियो ।
समितिका अनुसार तुलनात्मक रूपमा उक्त आर्थिक वर्षको भेटी रकम धेरै देखिनुमा धेरै समय अघिदेखि भण्डारमा थन्किएको रकम सोही वर्षमा नै गणना भएको थियो भने भारु नोट र सिक्काको समेत सटही भएको थियो ।
यस्तै, चालू आर्थिक वर्ष २०८१÷०८२ मा दुई लाख बढी भक्तजन पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिले आज सार्वजनिक गरेको विवरण अनुसार २ लाख १७ हजार ८७६ जना भक्तजनले पाथीभराको दर्शन गरेका हुन् । अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ मा २ लाख ३१ हजार ३३४ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए ।