कृष्णसेन (इच्छुक)को शालिकमा रगतका मसीहरुले गीत गुञ्जिदा……!

२०८२ पुष २५ गते, शुक्रबार

काठमाडौँ । पूर्वतिर राप्ती नदि सुसाईरहेको छ । आफ्नो अविरल यात्रा हिडिरहेको राप्ती नदिले म पानी मात्र होईन सहिदको रगत पनि हुँ भनिरहेको छ । जनयुद्धमा सयौ योद्धाहरुको रगतले वरिपरिको क्षेत्र रक्तामे छ । पश्चिमतिर लुम्विनी प्रदेको राजधानी सुन्दर दाङ देउखुरी उपत्यका छ । हामी क्रान्तिका जाज्वल्यमान योद्धाहरु ‘समाजवादी युवा जागरण’ अभियानकर्मी भएर भालुवाङको सुन्दर बजारमा छौ । पुसको चिसो –चिसो मौषम छ । आज पुसको २४ गते हो । दिउसोको ठीक साँढे ३ बजेको छ । चिसो– चिसो मौषममा यहाँको स्थानीय पार्टी र महिलाहरुले आफ्नै भेषभुसामा न्यानो –न्यानो स्वागत गरेका छन । सुन्दर शान्त भालुवाङ बजारकोबीचमा क्रान्तिकारी साँस्कृतिक योद्धा तथा पत्रकार कृष्णसेन इच्छुकको शालिक छ । त्यही शालिकको छेउमा उभिएर जनयुद्धले जन्माएका अर्का साँस्कृति योद्धा हिमशिखर सीले ‘रगतका मसीहरुले लेखिरहन्छौ गीत,रोदन र बेदनामा बजाईरहन्छौ संगीत’ गुञ्जाउदै छन ।
माहोल भावुक छ, सबैका आँखा रसाएका छन । महान सहिद कृष्णसेन (इच्छुक)लाई सम्झिएर ! राष्ट्रिय झण्डा फरफराईरहेका राता मान्छे छन । हाँसी हतौडा अंकित राता झण्डा फरफराईरहेका छन । नयाँ सपना बुनेका क्रान्तिकारी योद्धाहरुको भीड छ । समाजवाद र स्वाधीनताको पक्षमा जनतालाई जागरण दिने सभा छ । सयौ स्थानीय महिलाहरु मगर ड्रेस र बाजा गाजा सहित नाच्दै रमाउदै अभियान टिममा सहभागी छन । दाङका नेता कार्यकर्ता र सिंगो अभियान टिम हर्षित छ । बजारवासी व्यापारी, बुद्धिजीवी र सुरक्षाकर्मीहरुको समेत उपस्थिति बाक्लो छ । सबैको ध्यान कृष्णसेन (इच्छुक)को शालिकमा छ । त्यही शालिकको छेउमा उभिएर गीत गाईरहेका जनकलाकार हिमशिखरप्रति छ । जनयुद्धले जन्माएका पूँजी कलाकार हिमशिखरले गीत गाउदै भन्दै थिए ‘यो गीत २०५९ साल जेठ १३ गते कृष्णसेनको हत्या भएपछि उहाँको स्मरणमा लेखिएको हो । संयोगले आज म उहाँकै शालिकमा उभिएर यो गीत गाउँदै छु ।’ कलाकार हिमशिखरले यसो भन्दै आफ्नो प्रस्तुती दिइरहेका थिए
उनका गीतका शव्दहरु प्रस्फुटित हुदै गए…
‘सर्बहारा क्रान्तिलाई शिरोधार गरेर
बनाउनुछ सुन्दर नेपाल, बैरीलाई मासेर
२१औं शताब्दीका जनकलाकार
अनेकोट,भावाङ्ग,मुढभरा,माझफाल जन्मेका लालसितार’
यी गीतका शव्दहरुले सहभागीहरु धेरैका आँखा रसाए । चिसो– चिसो मौषममा न्यानो –न्यानो हुदै थियो । क्रान्तिकारी राप र ताप बढिरहेको थियो । दुश्मनप्रति आक्रोश र घृष्णाभाव जागिरहेको थियो । शालिकको रुपमा जन्मिएका कृष्णसेन इच्छुक निकै खुसी हुदै थिए ।
उनले पछाडिबाट संकेत गर्दै भने ‘म मरेको छैन, म अजमरी भएर बाँचेको छु ,तपाईहरुको साथमा छु, मेरो सपना पुरा भएको छैन । म सपना पुरा गर्ने बाटोमा हिडिरहेको छु ।’ जनयुद्धका चर्चित कलाकार हिमशिखरले थप गीतको अर्को हरफ सुरु गर्दै थिए ।
‘रगतको पोखरीमा फक्रेको फूल हो
यो आँशुको सागरबाट फुटेको बाँध हो
यो एक हातले सुर्य छेकिन्न रोकेर कहिल्यै रोकिन्न
मस्त,इच्छुक,च्याङ्वा मार्दैमा साँस्कृतिक क्रान्ति रोकिन्न’
कार्यक्रममा सहभागीहरुले कलाकारलाई उर्जा दिदै थिए । शालिकका चारैतिर राष्ट्रिय झण्डा र आँसी हतौडा अंकित कम्युनिष्ट झण्डा फरफराईरहेका थिए । राता मान्छेहरु उत्साहित हुदै थिए । सहिदको सपनाहरु पुरा गर्ने बाँचा गर्दै थिए । शालिकमा जन्मिएका इच्छुकले सबैलाई नियालिरहेका थिए । गीत गुञ्जिरहेको थियो । रगतका मसीहरुको गीत सायद ! इच्छुक पनि गुनगुनाईरहेका थिए । उनका शालिकमा समेत रगतका अक्षरहरु थिए । महान साँस्कृति योद्धा इच्छुकको हत्यापछि जन्मिएको यो गीत आफैमा इतिहास थियो । जनकलाकार हिमशिखर सीले फेरी पनि गीतको अन्तीम हरफर गाउदै भन्दै थिए ।
‘अजय छ हाम्रो विचार कहिल्यै नमर्ने
अथकछन् हाम्रा पाइला साम्यवादमा पुग्ने
हार्दैनौं, हामी झुक्दैनौं बढ्छौं लगातार
सहिदहरुका अधुरा सपना पार्नेछौं साकार’
रगतका मसिहरुले…..
गीतले भने जस्तै शालिक अगाडि उभिएका राता मान्छेहरुले पनि कहिल्यै नझुक्ने कसम खादै थिए । सहिदको सपना पुरा गर्ने बाचा खादै थिए । शालिकको अगाडि उभिएका अभियान टिमका कमाण्डर तथा नेकपा (माओवादी)का केन्द्रीय सदस्य प्रेम सीले भने ‘सहिद कृष्णसेन इच्छुक, एकीकृत जनक्रान्तिका सहिद महान लगायत सबै सहिदको रगत खेर जाँन दिने छैनौ,उनीहरुको सपना पुरा गरेरै छोड्ने छौ । हाम्रा गीत संगीतहरुले पनि यही भनेका छन । हाम्रा शालिकहरुले पनि यही भनेका छन । हाम्रा इतिहासहरुले पनि यहि भनेका छन । माओवादी विचार छोडेर प्रचण्डहरु भागेपनि हाम्रो पार्टी यो प्रतिबद्धता पुरा गर्ने बाटोमा छ ।’
यस्तै कार्यक्रममा जुझारु युवा विश्लेषण सी र समानुपातिकका उम्मेदवार कृष्ण सीले बोल्दै साम्राज्यवादी हस्तक्षेप विरुद्ध सबै क्रान्तिकारी,देशभक्त तथा प्रगतिशील शक्तिहरु एकताबद्ध भएर जानुपर्ने बताए । उनीहरुले सबै सहिदको सपना पुरा गर्न अब अरुलाई होईन माओवादीलाई चुनावमा जिताउन आग्रह पनि गरे ।
कार्यक्रममा रगतका मसीहरुले भन्ने गीतको भावले निकै तरंग दिएको थियो । यो गीतका रचनाकार, संगीतकार र गायककार जनयुद्धको आधारभूमी कालिकोटले जन्माएका हिमशिखर स्वयम आफै उपस्थित थिए । उनी जनयुद्धका समयमा विशु सांस्कृतिक परिवारमा लामो समयसम्म रहेर गीत र संगीतबाट प्रतिक्रियावादी सत्ता विरुद्ध लडेका थिए । उनी साँच्चिकै टल्टलाउदो हिमशिखर नै थिए । उनका सयौ जनयुद्धकालिन गीत र संगीतहरु छन । रगतका मसिहरुको गीतले उनलाई हिमशिखर जस्तै बनायो । क्रान्तिकारी भावलाई संगीतबाट एकीकृत गरे । उनले सबैलाई सहिदको स्मरण गराउनेसंगै उर्जा र बल पनि दिए । त्यसैले पनि यो गीतका जन्मदाता गायक हिमिशिखरप्रति सबैले अथाह तालीले बधाई तथा धन्यवाद दिए । गड्गडाहट ताली मात्र दिएनन् सहभागीहरुले नयाँ अठोट दिए र लिए । अन्तमा,जनकलाकार गायक हिमशिखरले कृष्णसेनको शालिकमा उभिएर गुनगुनाउदै गरेको गीत रगतका मसीहरुले ……… बन्द भयो । -बसन्त विक

प्रतिक्रियाहरु

[anycomment]