अमेरिकी साम्राज्यवादको भेनेजुयलामाथिको आक्रमण ः स्वाधीनता, सार्वभौमिकता र मानवताको खुला हत्या

२०८२ पुष २९ गते, मंगलवार
सन्तोष सी

युद्ध अपराधी अमेरिकी साम्राज्यवादको भेनेजुयलामाथिको आक्रमण स्वाधीनता, सार्वभौमिकता र मानवताको खुला हत्या हो । विश्व आज एकपटक फेरि साम्राज्यवादी दम्भ, युद्ध अपराध र रक्तपिपासु हस्तक्षेपको कुरूप अनुहार हेर्न बाध्य भएको छ । स्वतन्त्र र सार्वभौम राष्ट्र भेनेजुयलामाथि अमेरिकी साम्राज्यवादले गरेको बहुआयामिक आक्रमण केवल एउटा देशमाथिको हस्तक्षेप होइन, यो अन्तर्राष्ट्रिय कानुन, मानवअधिकार, राष्ट्रहरूको आत्मनिर्णयको अधिकार र विश्व सभ्यतामाथिको खुला चुनौती हो । आर्थिक नाकाबन्दी, कूटनीतिक दबाब, आन्तरिक अस्थिरता भड्काउने षड्यन्त्र, साइकोलोजिकल युद्ध र प्रत्यक्ष–अप्रत्यक्ष सैन्य धम्कीमार्फत अमेरिकाले भेनेजुयलाका जनताको राजनीतिक रोजाइ र भविष्य कब्जा गर्न खोजिरहेको छ ।

यो आक्रमण कुनै आकस्मिक घटना होइन । यो अमेरिकी साम्राज्यवादको पुरानो चरित्र, निरन्तर अभ्यास र ऐतिहासिक निरन्तरताको परिणाम हो जहाँ–जहाँ जनताले आफ्नै भविष्य आफैं तय गर्न खोजे, त्यहाँ त्यहीँ अमेरिकी हस्तक्षेप पुगेको छ ।

वास्तवमा भेनेजुयलाको ‘अपराध’ के हो ?

साम्राज्यवादी शक्तिहरूको दृष्टिमा भेनेजुयलाको सबैभन्दा ठूलो अपराध के हो ?

के आफ्नै तेल, ग्यास र प्राकृतिक स्रोतहरूमा जनताको स्वामित्व सुनिश्चित गर्न खोज्नु अपराध हो ?

के बहुसंख्यक श्रमजीवी, किसान, गरिव र उत्पीडित समुदायको हितमा राज्य नीति निर्माण गर्नु अपराध हो ?

के साम्राज्यवादी लुट, बहुराष्ट्रिय कम्पनीहरूको दोहन र वित्तीय उपनिवेशवादको चक्र तोड्ने साहस गर्नु अपराध हो ?

यिनै ‘अपराध’ का नाममा अमेरिकी साम्राज्यवादले भेनेजुयलाका जनतामाथि सामूहिक दण्ड थोपरेको छ । आर्थिक नाकाबन्दीले खाद्यान्न अभाव सिर्जना गरिएको छ, औषधि र स्वास्थ्य सामग्री रोकिएको छ, अन्तर्राष्ट्रिय बैंकिङ प्रणालीमार्फत देशलाई घुँडामा टेकाउने प्रयास गरिएको छ । यो कुनै सरकारविरुद्धको मात्र आक्रमण होइन यो सिधै भेनेजुयलाका जनता, बालबालिका, वृद्ध र बिरामीविरुद्धको अमानवीय युद्ध हो ।

‘लोकतन्त्र’ को नाममा लुट र विनाश

अमेरिकी साम्राज्यवाद सधैं एउटै भूmटो नाराको आडमा अघि बढ्छ “लोकतन्त्र”, “मानवअधिकार” र “स्वतन्त्रता” । तर विश्व इतिहास साक्षी छ, जहाँ जहाँ अमेरिकी सेना, कूटनीति वा गुप्तचर हस्तक्षेप पुगेको छ, त्यहाँ लोकतन्त्र होइन युद्ध, गृहयुद्ध, विनाश, शरणार्थी संकट र दीर्घकालीन अस्थिरता जन्मिएको छ ।

इराकमा ‘विनाशकारी हतियार’ को भूmटो बहानामा गरिएको आक्रमणले लाखौँ मानिसको ज्यान लियो । अफगानिस्तानमा दुई दशक लामो कब्जापछि देशलाई भग्नावशेष बनाएर छोडियो । लिबियामा ‘मानवीय हस्तक्षेप’ को नाममा राज्य संरचना ध्वस्त पारियो र देशलाई अराजकतामा धकेलियो । यी सबै उदाहरणहरूले स्पष्ट देखाउँछन् अमेरिकी साम्राज्यवादको उद्देश्य लोकतन्त्र होइन, स्रोतको नियन्त्रण र भूराजनीतिक प्रभुत्व हो ।

भेनेजुयलामाथिको हस्तक्षेप पनि यही निरन्तरताको अर्को कडी हो, सार्वभौमिकता बनाम साम्राज्यवादी दम्भ । हामी स्पष्ट रूपमा भन्छौं कुनै पनि बाह्य शक्तिलाई स्वतन्त्र राष्ट्रको राजनीतिक दिशा तय गर्ने अधिकार छैन । सरकार कसले बनाउने, नीति कस्तो हुने, सत्ता कसको हातमा जाने यी सबै प्रश्नको उत्तर भेनेजुयलाका जनताले मात्र दिन सक्छन् । वाशिङ्टनका शक्ति केन्द्रहरू, बहुराष्ट्रिय कम्पनीहरू वा साम्राज्यवादी गठबन्धनहरूले होइन ।

अन्तर्राष्ट्रिय कानुनले राष्ट्रहरूको सार्वभौमिकता र आत्मनिर्णयको अधिकारलाई मान्यता दिएको छ । तर अमेरिकी साम्राज्यवादका लागि कानुन भनेको कमजोरमाथि थोपर्ने हतियार मात्र हो; आफैंमाथि लागू हुने नियम होइन । यही दोहोरो मापदण्ड आजको विश्व व्यवस्थाको सबैभन्दा ठूलो संकट हो ।

आर्थिक नाकाबन्दी ः शान्तिकालीन युद्ध

भेनेजुयलामाथि लगाइएको आर्थिक नाकाबन्दी कुनै ‘शान्तिपूर्ण दबाब’ होइन; यो शान्तिकालमै गरिएको युद्ध हो । यसले जनताको दैनिक जीवनमा प्रत्यक्ष चोट पु¥याउँछ भोक, बेरोजगारी, महँगी र सामाजिक अस्थिरता सिर्जना गर्छ । यसरी सिर्जित पीडालाई फेरि साम्राज्यवादले “शासनको असफलता” भनेर दोष लगाउँछ । यो त्रूmर षड्यन्त्र हो, दोहोरो अपराध हो ।

अन्तर्राष्ट्रिय समुदायको जिम्मेवारी

आज अन्तर्राष्ट्रिय समुदाय मौन बस्नु अपराधसँग सहमति जनाउनु सरह हो । प्रगतिशील शक्तिहरू, श्रमिक वर्गका संगठनहरू, शान्तिप्रेमी जनता र स्वतन्त्र राष्ट्रहरूले साम्राज्यवादी हस्तक्षेपविरुद्ध स्पष्ट र दृढ आवाज उठाउनुपर्छ । भेनेजुयलासँग ऐक्यबद्धता प्रकट गर्नु भनेको केवल एक देशको समर्थन होइन यो सम्पूर्ण उत्पीडित राष्ट्रहरूको आत्मसम्मानको पक्षमा उभिनु हो ।

आज भेनेजुयला अमेरिकाको चपेटामा, भोलि कस्को पालो ?

आज निशानामा भेनेजुयला परेको छ । तर यदि साम्राज्यवादलाई यहीँ रोकिन दिइएन भने भोलि कुनै पनि स्वाधीन राष्ट्र यसको शिकार बन्न सक्छ । त्यसैले यो केवल भेनेजुयलाको प्रश्न होइन यो सम्पूर्ण विश्वका उत्पीडित राष्ट्रहरूको स्वाधीनता, सम्मान र अस्तित्वको प्रश्न हो ।

 ऐक्यवद्धताको ऐतिहासिक आवश्यकता

हामी युद्ध अपराधी र रक्तपिपासु अमेरिकी साम्राज्यवादद्वारा भेनेजुयलामाथि गरिएको आक्रमणको कडा भत्र्सना गर्दछौं । हामी भेनेजुयलाका जनताको साहस, आत्मनिर्णय र प्रतिरोधसँग पूर्ण ऐक्यबद्धता प्रकट गर्दछौं । इतिहासले साक्षी छ साम्राज्यवादका सबै साम्राज्यहरू अन्ततः ढलेका छन्, तर जनताको स्वाधीनताको आकांक्षा कहिल्यै पराजित भएको छैन । भेनेजुयलाको संघर्ष हाम्रो पनि संघर्ष हो । स्वाधीनताको रक्षा हाम्रो साझा दायित्व हो ।

प्रतिक्रियाहरु

[anycomment]