इरानमा प्रदर्शन जारी : २ हजार ४०३ जनाको मृत्यु

२०८२ माघ १ गते, बुधबार


काठमाडौँ । इरानमा जारी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या २ हजार ४०३ पुगेको छ। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले इरानमा अमेरिका आधारित मानवअधिकारवादी समाचार संस्था एचआरएएनएलाई उद्धृत गर्दै बुधबारसम्म मृत्यु हुनेको संख्या २ हजार ४०३ पुगेको जनाएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले भने मृत्यु हुनेको संख्या २००३ पुगेको भनेर इरानी अधिकारीहरूलाई उद्धृत गरेर लेखेको छ।
इरानी अधिकारीहरुले पनि मृतकको संख्या तीव्र रूपमा बढेको र २ हजार नाघेको जनाएका छन्। प्रदर्शन चर्किँदै जाँदा पहिलो पटक इरानको सरकारी अधिकारीले पहिलोपटक मृतकहरुको संख्या सार्वजनिक गरेको रोयटर्सले जनाएको छ।
प्रदर्शनमा सहमागी १६ हजार ७८४ जनालाई इरानी सुरक्षाकर्मीले पक्राउ गरेको छ। मृत्यु भएकामध्ये १ हजार ८५० जना प्रदर्शनकारी रहेको पनि बताइएको छ। प्रदर्शनमा सुरक्षाकर्मीको पनि मृत्यु भएको छ। इरानले हिंसात्मक प्रदर्शन चर्किनुमा अमेरिका र इसराइललाई दोष लगाएको छ।इरानमा प्रदर्शन सुरू भएलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार प्रदर्शनकारीको पक्षमा अभिव्यक्ति दिइरहेका छन्। उनले प्रदर्शनकारीहरूलाई बँचाउन अमेरिका आउने र प्रदर्शनकारीमाथि गोली चलाउने इरानी नेतृत्वलाई सैन्य कारबाहीसम्मको चेतावनी दिएका थिए।ट्रम्पले इरानी नेतृत्वमाथि दबाब बढाउन इरानसँग व्यापार गर्ने देशहरूलाई थप २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन्।

प्रतिक्रियाहरु

[anycomment]