बेलायतमा नेपाली विद्यार्थीको निधन

२०८२ माघ २१ गते, मंगलवार


काठमाडौँ । बेलायतमा अध्ययनरत सप्तरीको हनुमाननगर कंकालिनी–१० घर भएका २२ वर्षीय विवेकानन्द मण्डलको सन्डरल्याण्ड रोयल अस्पतालमा मृत्यु भएको बताइएको छ । चिकित्सकलाई उद्धृत गर्दै एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले सो जानकारी दिएका हुन्।
मण्डल सन् २०२३ सेप्टेम्बरमा कम्प्युटर साइन्स विषयमा अन्डरग्राजुएट अध्ययनका लागि बेलायत आएका थिए। केही महिनादेखि उनी फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित थिए।
आइतबार श्वासप्रश्वासमा समस्या भएपछि मण्डलले छिमेकी दिदी गरिमा मल्ललाई फोन गरेर आफ्नो अवस्था बताए। मल्लको सुझावपछि उनी सन्डरल्याण्ड रोयल अस्पताल पुगेका थिए, जहाँ उनलाई आईसीयूमा राखेर उपचार सुरु गरिएको थियो। तर उपचारकै क्रममा सोमबार चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। मण्डल अध्ययन पूरा नगरी नेपाल फर्कने तयारीमा थिए। सन्डरल्याण्ड युनिभर्सिटीलाई तिर्न बाँकी तीन हजार पाउण्ड शुल्क नतिरेको कारण विश्वविद्यालयले उनलाई निष्कासन गरेको थियो। उनको बेलायतमा बस्न पाउने भिसा अवधि सन् २०२६ फेब्रुअरी १४ सम्म कायम थियो।

प्रतिक्रियाहरु

[anycomment]