आहा रारा पोखरा गोल्डकप : सहारा र जावलाखेल युथ प्रतिस्पर्धा गर्दै
काठमाडौँ । २५औँ आहा रारा पोखरा गोल्डकपको उपाधि खेलमा आज आयोजक सहारा क्लब र जावलाखेल युथ क्लब प्रतिस्पर्धा गर्दैछन्।
जावलाखेल पहिलो पटक आहा राराको उपाधि जित्ने लक्ष्यमा छ। यसअघि २०६८ सालमा फाइनल पुगे पनि उपाधि हात पार्न सकेको थिएन। फाइनलसम्मको यात्रामा जावलाखेलले मच्छिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड र उज्वेकिस्तानको आभा एफसीलाई पराजित गरेको थियो।
घरेलु टोली सहारा १२ वर्षपछि उपाधि घरमै राख्ने योजनामा छ। सहाराले गोरखा इन्टरनेसनल फुटबल क्लब हङकङ, नेपाल पुलिस र मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै फाइनल पुगेको हो। प्रतियोगिताको विजेताले १४ लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेताले ७ लाख एक हजार रुपैयाँ पुरस्कार पाउने पाउने आयोजकले जनाएको छ। सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर तथा अन्य पाँच विधाका उत्कृष्ट खेलाडीलाई जनही रु २५ हजार प्रदान गरिनेछ।
