देशभर वर्षाको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको साथै मध्य र पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव रहेको छ । त्यसैले बादल लाग्ने र पानी पर्ने गतिविधि भइरहेको छ ।
विभागका अनुसार वैशाख २८ गते दिउँसो देशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ । रातिमा भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ ।
वैशाख २९ गते दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । रातिमा भने कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा वा हमपातको सम्भावना छ ।
प्रि–मनसुन अवधि (मनसुन सुरु हुनुभन्दा अगाडिको समय)मा पटक–पटक पानी पर्ने गतिविधिले गर्मी हुने समयमा पनि चिसो महसुस हुँदै आएको मौसमविदहरु बताउँछन् ।
