बाँदर धपाउन सार्वजनिक बिदा !
काठमाडौँ । तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदर धपाउनका सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले गरेको सूचनामा लेखिएको छ – ‘बाँदर खेद्नका लागि ठूलो संख्यामा जनपरिचालन आवश्यक भएको हुँदा जेष्ठ १ गते शुक्रबारको दिन अत्यावश्यक बाहेकका सेवाहरु बन्द हुने गरी सार्वजनिक बिदा घोषणा गरिएको बेहोरा समेत जानकारी गराइन्छ ।’
नगरपालिकाका अनुसार बाँदरको समस्या सतहमा सामान्य देखिए तापनि यसबाट कृषक वर्गमा व्यापक असर परेको छ । बाँदरबाट कृषिउपज जोगाउनका लागि रातदिन खेतबारी रुँघ्नुपर्ने विवशताले कतिपय बालबालिका विद्यालय जानसमेत पाएका छैनन् । यही बढ्दो समस्यालाई ध्यानमा राख्दै लालीगुराँस नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत बजेटमार्फत ‘कृषिमा बाँदरबाट परेको क्षति न्यूनीकरण’ कार्यक्रम समेत अघि बढाएको छ ।
नगरपालिकाले वडा नम्बर ८ को मेघा पुच्छार, वडा नम्बर ६ र ८ को संगमस्थल नागेश्वरी तथा वडा नम्बर ५ को सिंथापा पुच्छार क्षेत्रमा अस्थायी संरचनासहित बाँदर हेरालु समेत खटाएको छ । बाँदर नियन्त्रण र खेती जोगाउन जेठ १ र २ गते ‘बाँदर लखेटी नगरपालिका सिमाना कटाउने’ विशेष अभियान सञ्चालन गरिने लालीगुराँस नगरपालिका ७ का वडाध्यक्ष तथा प्रवक्ता देवेन्द्र खड्काले बताए । बाँदर लखेट्ने अभियानमा किसान, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय नागरिकलाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ ।

