काभ्रेपलाञ्चोकमा बर्डफ्लू संक्रमण तीव्र
काठमाडौँ । पशु सेवा विभागले देशका अधिकांश जिल्लामा बर्डफ्लू संक्रमण नियन्त्रणमा आए पनि काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकमा भने जोखिम अझै कायम रहेको जनाएको छ । विभागले झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा र चितवन लगायत जिल्लामा संक्रमण पूर्णरूपमा नियन्त्रणमा आइसकेको जनाएकाे हाे । विभागका वरिष्ठ पशु सेवा चिकित्सक डा. मुकुल उपाध्यायले उपत्यकाका तीन जिल्लामा संक्रमणको अवस्था यथावत रहे पनि काभ्रेपलाञ्चोकमा भने संक्रमण तीव्र रूपमा फैलिरहेको बताए ।
विभागको तथ्यांक अनुसार संक्रमण नियन्त्रणका लागि हालसम्म देशैभर सात लाख ५४ हजार ५ सय पन्छी, १० लाख ९१ हजार ३ सय ३ अण्डा तथा दुई लाख ४३ हजार ६ सय ३५ केजी दाना नष्ट गरिएको छ । त्यसमध्ये काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेमा मात्रै दुई लाख ८६ हजार २ सय ७७ पन्छी, एक लाख ७९ हजार ६४ अण्डा र ७४ हजार केजी दाना नष्ट गरिएको विभागले जनाएको हाे ।
वरिष्ठ पशु सेवा चिकित्सक उपाध्यायले जोखिमयुक्त क्षेत्रको स्थलगत अनुगमन गरी संघीय र स्थानीय सरकारको समन्वयमा प्रतिवेदन तयार पारिएको बताए । सोही आधारमा संक्रमित क्षेत्रका पन्छी नष्ट गर्ने तथा संक्रमण नियन्त्रणका अन्य उपाय कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ।
