‘बैचारिक रुपान्तरण र समाजवाद’ का मुल आधार छोडेर पार्टी फेरबदल वा एकताको अर्थ छैन’

२०८३ असार २४ गते, बुधबार
बलबहादुर वली ‘शितल’


भुमिका

हिजो आज नेपालका केही कम्युनिस्ट पार्टी र ब्यक्तिहरुले पार्टी फेरबदल,एकता र पुनर्गठनको हल्ला चलाईरहेका छन। त्यस्तो पार्टी फेरबदल, एकता र पुनर्गठनको हल्ला संगै हाम्रो नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट केही साथीहरू बाहिरिनु भयो। समाजवादी सपनाबाट बरालिएर हल्लाको भरमा कुनै पार्टी परिवर्तन गर्नु समाजको अग्रगामी परिवर्तनको बाटो हो र ?
कम्युनिस्ट पार्टीहरुमा बारम्बार अन्तरविरोधका अमुर्त कुरा आउने गर्दछन्, तर त्यो अन्तरविरोध कहाँ छ ?, के मा छ ? र कसका बिचमा छ ? यदि छ भने त्यसलाई क्रान्तिकारी सोचका साथ हल गर्नुको सट्टा मनपरि दौडिने गम्भीर समस्याले आन्दोलनलाई बाधा पुर्याइरहेको छ। कुन अन्तरविरोध र संघर्ष हो,सहि पहिचानको आधारमा खराब प्रवृत्तिहरू पन्छाउदै (श्रमिक बर्गको सत्ता) ‘समाजवाद’ प्राप्तिका मुल आधारमा केन्द्रित हुनुको सट्टा बाहिर निस्कने अनि पार्टी ,नेतृत्व , राजनीतिक लाइन र कार्यदिशा बिरुद्द निराधार, निरर्थक, अनर्गल जस्ता (मार्क्सवादी ) मान्यताका आधारभूत ज्ञानबाट बाहिर गएर गरिने अभिब्यक्ति शोभनीय हुदैन। बेला बखत कम्युनिस्ट आन्दोलनको पुनर्गठनको कुरा उठिरहेका छन्। बास्तबिकता कि, भ्रमपुर्ण तुष्टि ? यिनै बिषयहरुमा छोटो चर्चा गर्न खोजिएको छ।
पार्टी फेरबदलका कारण र उद्देश्य
कम्युनिष्ट पार्टीमा स्पष्ट वैचारिक असहमति, सही राजनीतिक कार्यदिशाको खोजी र आन्दोलनलाई बलियो बनाउने उद्देश्यले पार्टी फेरबदल हुन्थ्यो भने त्यसका केही सामान्य सकारात्मक पक्ष हुन सक्छन् ।तर नेपालमा कम्युनिस्ट पार्टीका केही ब्यक्तिहरुको पार्टी फेरबदल संसदीय पुँजिवादी सत्तामा पुग्ने उद्देश्यमा आधारित छ। सत्ता सबैथोक हो, आन्दोलन केही होइन भन्ने बुझाई , गुटगत मानसिकता , पदलोलुपता , व्यक्तिगत नेतृत्व, पद र अवसरको खोजी, जस्ता गैर-कम्युनिस्ट प्रबृत्तिका कारण पार्टी फेरबदल भैरहेका छन्। त्यस्तो उद्देश्य र कारणबाट हुने पार्टी फेरबदलले संसदीय पार्टी वा मोर्चालाई सामान्य तथा क्षणिक हौसला त देला,तर समाज परिवर्तनको ल्याकत राख्दैन। बरु आफ्नै राजनीतिक जीवनमा संकट पैदा हुने प्रायः निश्चित छ।
सरकारी कम्युनिस्ट पार्टीका केही ब्यक्तिहरुले आफ्नो संसदीय मोर्चा बलियो बनाउने उद्देश्यले पार्टी फेरबदलको हल्ला गरिरहेका बेला हाम्रो नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का तत्कालीन सचिवालय सदस्य सिलुलगाएत केही कामरेडहरु त्यही हल्लिरखल्लिको चटारोमा परी ‘समाजवादी’ क्रान्तिको सपनाबाट पन्छिनु भएको छ। उहाँहरु पार्टीभित्र हुँदा वा कारबाहीमा परेपछि या पदमुक्त गरिए र भएपछि ,जे भनिरहनु भएको छ, ति कुरा सत्य होइनन्। बरु पार्टीले कार्यनीतिकरुपमा चुनावलाई एउटा सङ्घर्षको मोर्चाको रुपमा उपयोग गर्ने भन्ने प्रस्ताव ल्यायो, एक बृहत छलफल पछि चुनावमा जाने निर्णय भयो, कार्यन्वयनमा राम्रो परिणाम आएन। त्यही परिणामले उहाँहरुलाई ढालिदियो र बैचारिक अपरिपक्वता साबित गरिदियो। अत: उक्त प्रस्तावमाथिको छलफलमा चुनावमा जानैपर्छ भनेर बढी उफ्रिने व्यक्ति उहाँहरु नै हो। चुनावको परिणाम पछि, पार्टीको जिम्मेवारी सम्हालिरहेको बेला पार्टी अनुशासन बिपरित (निति र नेतृत्व ) बिरुद्द भद्दा अभिब्यक्ति मात्र होइन, गुटबन्दी , गोप्य गुटबन्दी (फ्याक्सनल),अन्य शक्तिसंग अस्वभाविक र संसदवादी साँठगाठ गर्ने पनि उहाँहरू नै हो। कारबाही परेपछि र पार्टीबाट बाहिरिए पछि गलत,कपोलकल्पित र अराजनैतिक अभिव्यक्ति उहाँहरूले नै दिइरहनु भएको छ । यसले उहाँहरुमा बैचारिक अपरिपक्व,अराजनीतिक,र गैर-संगठनात्मक प्रबृत्ति छताछुल्ल भएको छ। यो उहाँहरुको बैचारिक बिचलन हो। तर हिजोसम्म समाजवादको लक्ष्य बोकेका साथिहरु पार्टी, लक्ष्य र कार्यदिशाबाट बिचलित हुनु दुखद हो।
अर्कोतिर कम्युनिष्ट आन्दोलन पुनर्गठनका अमूर्त अभिब्यक्ति आइरहेका छन्। यो वाक्यांशले मुलभूत रुपमा कम्युनिस्ट आन्दोलन संकटमा वा समाप्त भएको भन्ने अर्थ दिन्छ। तर समाजमा असमानता,बेरोजगारी, श्रमिकका समस्या,कृषि संकट जस्ता विषय अझै छन्। त्यसकारण कम्युनिस्ट वा वामपन्थी राजनितिक आधारहरू हराएका छैनन्। बरु ती मुद्दालाई प्रभावकारी रुपमा संगठित र प्रतिनिधित्व गर्न नसक्नु पार्टीहरूको कमजोरी होला। कम्युनिस्ट आन्दोलन संकटमा छ भन्ने वाक्यांश प्रयोग गर्दा कुन पक्ष संकटमा छ भन्ने स्पष्ट गर्नुपर्दछ।तर समाजवादि सपनाबाट बाहिरिएर गरिने पार्टी फेरबदलको चेतनाबाट यो सम्भव छैन।
पार्टी एकताको प्रसंग
हाम्रो नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को रणनीतिक लक्ष्य देशमा ‘बैज्ञानिक समाजवादी’ र ‘साम्यवादी’ सत्ता स्थापना गर्नु हो,जहाँ सबै प्रकारका श्रमिक बर्गको आवश्यक्ता परिपुर्ति र अधिकार सुनिश्चित होस्। उक्त लक्ष्य प्राप्तिका लागि श्रमिक बर्गको ब्यापक जनसंगठन अनिवार्य सर्त हो, भने राष्ट्रवादी शक्तिसंगको सहकार्य आवश्यक छ। क्रान्तिकारी धुर्बिकरण तथा कम्युनिस्टहरुबिच एकता आधारभूत र झन महत्वपूर्ण बिषय हुन्। तर सच्चा कम्युनिस्टहरुले पहल गर्नु पर्ने र कार्यन्वयनमा लिनु पर्ने अझ महत्वपूर्ण बिषय भने सबै कम्युनिस्ट शक्तिहरुको बैचारिक रुपान्तरण सहितको धुर्बिकरण तथा एकता हो। जसका लागि हाम्रो नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले कैयौं पटक पहल गर्यो,सफल भएन। यो पहल गर्यो कि सफल भैहाल्ने सामान्य बिषय होइन। किनकि श्रमिक बर्गको सत्ता (समाजवाद) प्राप्तिका लागि एकतामा आउन सक्ने कम्युनिस्टहरु बिच आधारभूत बिषयहरुमा समान धारणा हुनु पर्छ।तर नेपालका केही कम्युनिस्टहरुमा त्यस्तो छैन।एक उदाहरणको रुपमा लिउ, नेपालका केही कम्युनिष्ट पार्टी र त्यसको नेतृत्व पंक्ति संसदीय अभ्यासमा छन्। उनीहरु कुरा समाजवादको गरेपनि सिद्धान्तत अनि ब्यबहारत पुँजीवादी लक्ष्य अंगालेका छन्। उनिहरुले सच्चा कम्युनिस्टका कार्यनीतिक सवाललाई रणनीतिक अस्त्रको रुपमा प्रयोग गरिरहेका छन्। जस्तो कि, बहुदलीय प्रतिस्पर्धात्मक संसदीय व्यवस्थामा पूर्ण सहभागि भएर आफ्नो राजनीतिक सञ्चालन गरिरहेका छन्। जबकि संसदीय (पुँजीवाद र श्रमिक तथा कम्युनिस्टहरूको सत्ता होइन। त्यसको चुनाव पनि जनताका प्रतिनिधिको चुनाव होइन। कम्युनिष्टहरूका लागि संसदीय चुनाव उपयोग) नितान्त एउटा कार्यनैतिक (मोर्चा)हो।
यसै सन्दर्भमा मार्क्स र एंगेल्सले श्रमिक वर्गले राजनीतिक शक्ति प्राप्त गर्न उपलब्ध सबै माध्यम प्रयोग गर्न सक्ने बताएका थिए। कतिपय अवस्थामा चुनाव र संसदलाई पनि सङ्घर्षको एउटा माध्यम मानिएको छ।
लेनिनले संसदलाई बुर्जुवा (पुँजीवादी) राज्यको संस्था माने पनि कम्युनिस्टहरूले जनतासँग जोडिन र आफ्नो विचार प्रचार गर्न संसदमा भाग लिन सकिने बताएका थिए। तर उनले संसदलाई अन्तिम लक्ष्य होइन, संघर्षको एक साधन माने। त्यस्तो कार्यनीति भनेको निश्चित समय, परिस्थिति र शक्ति सन्तुलनका लागि अपनाइने सङ्घर्षका उपायहरू हुन्। तर नेपालका केही ठूला कम्युनिस्ट पार्टीहरु मार्क्स, एंगेल्स, लेनिनहरुका भनाइको ठिक बिपरित छन्। उनीहरु चुनावदेखि चुनावसम्मको कार्यनीति, संसद देखि सरकारसम्मको रणनीति अख्तियार गरेका छन्। कम्युनिष्ट पार्टीको न्यूनतम रणनीति “समाजवाद’ र अधिकतम रणनीति ‘साम्यवाद’ हो। तर नेपालका केही कम्युनिस्ट पार्टीहरूमा समेत मतभेद रहँदै आएको छ। जो साम्यवादी समाजको ध्ययसँग सहमत हुदैनन्, आफ्नै विशेषता र मौलिकताको आधारमा उत्पीडित वर्गको अधिनायकत्व स्थापित गर्ने प्रयासमा सहमत हुँदैन। जो निजी सम्पत्तिलाई अक्ष्युन्न राख्दै समाजवाद र साम्यवादको वकालत गर्दछन्। तिनीहरु कम्युनिस्ट हुन सक्दैनन्।
तसर्थ : कम्युनिष्टहरूको वृहत ध्रुवीकरणका लागि उल्लेखित तीन प्रश्नमा साझा दृष्टिकोण खोजिनुपर्छ। रणनीतिक प्रश्नलाई व्यवास्था गरेर गरिने एकता वा ध्रुवीकरणले कम्युनिष्ट आन्दोलनकलाई सही दिशा निर्देश गर्न सक्दैन। तर सच्चा कम्युनिस्ट पार्टी र नेतृत्वले सबै कम्युनिस्टहरु संगको एकता र बृहत धुर्वीकरणका लागि बैचारिक रुपान्तरणको महत्वपूर्ण कार्यमा निरन्तर जोड दिन आवश्यक छ।
के हो अन्तरबिरोध ?
मार्क्स र एन्डेल्सले भन्नुभएको छ , अन्तरबिरोध आफैमा समस्या होइन,अस्पष्ट अन्तरबिरोध समस्या हो।
क- क्रान्तिकारी कम्युनिस्ट पार्टीमा कहिले काँही बिचार,कार्यदिशा वा राजनीतिक लाइन जस्ता महत्वपूर्ण पक्षमा जब्बर अन्तरबिरोधको जन्म हुन्छ,भने कहि कतै कार्यनीति, कार्यशैली, मोर्चा जस्ता सवालहरुमा सामान्य अन्तर्विरोध हुन सक्छन। तर त्यो अन्तरविरोध वास्तवमा कहाँ छ, केमा छ, कसका बीचमा छ भन्ने स्पष्ट नहुने कुरा निकै जटिल हुन्छ। जब अन्तरविरोधको प्रकृति,पक्ष र कारण स्पष्ट हुँदैन, तब त्यसले आफैलाई नोक्सानी पुर्याउँछ। त्यसकारण पहिलो कदम नै अन्तरबिरोध कहाँ छ भन्ने प्रश्नको वस्तुगत र ठोस उत्तर खोज्नु हो, अनि मात्र सही समाधानको बाटो खुल्छ ,समस्याको सकारात्मक हल गर्ने आँट गर्नैपर्छ। हाम्रो नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का तत्कालीन कार्यालय सदस्य शिलुहरुले बाहिर जे बोलिरहनु भएको छ, त्यस्तो समस्या पार्टीमा छैन। तर उहाँहरुलाई लागेको भए बैठकहरुमा किन नउठाएको ? ति कुरा पार्टीका औपचारिक बैठकहरूमा कहिलै पनि ल्याउनु भएन । न बिचार, कार्यदिशा वा ,राजनीतिक लाइनको सवालहरुमा बिषय उठाउनु भयो, न कार्यशैली, कार्यनीतिक बिषयहरुमा नै बिमति जनाउनु भयो। एउटा कम्युनिस्ट पार्टीभित्र समस्या छन् भन्ने कुनै सदस्यलाइ लाग्यो भने उसले बैधानिक बैठकहरुमा बिषयको उठान वा बहस गर्नु उचित हो। त्यो नगरि,पार्टी बाहिर गएर त्यसबारे अस्वभाविक र छुद्र टिप्पणी, आलोचना, वा हल्ला गर्ने। त्यसखाल्का फत्तुर अभिब्यक्तिले नेकपा(९माओवादी) लाई गलत सावित गर्न सकिन्छ भन्ने लागेको हो भने त्यो राजनीतिक दरिद्रता हो। मुख्यत: नेकपा (माओवादी) भित्र हुँदा र बाहिर गएपछि तपाईंहरुले देखाएका क्रियाकलाप ,अभिव्यक्ति र गुटबन्दी, गोप्य गुटबन्दी (फ्याक्सनल) प्रबृत्ति, भित्र मौन रहने बाहिर आलोचना गर्ने (दोहोरो) प्रबृत्ति, संगठनभित्र छलफल नगरी बाहिर बिबाद सृजना गर्ने (अराजनीतिक वा गैर-संगठनात्मक) प्रबृत्ति जस्ता समस्या देखिए। जबसम्म कम्युनिस्ट सदस्य त्यसखालका समस्याबाट मुक्त हुन सक्दैन,तबसम्म उसका हरेक कदमहरू मिथ्या साबित हुन्छन्।
ख- पार्टीमा सामान्य या जटिल अन्तरविरोधहरू जन्मिन सक्छन् , तर अन्तरविरोध छ भने पनि त्यसबाट भागेर मुक्त हुन खोज्नु पछ्याउँटे चेतना हो।अन्तरसंघर्षहरू चल्न सक्छन् , बहस हुन सक्छन्। ती संघर्षहरूले कुनैबेला दुवै या एक पक्षको क्रान्तिकारी रूपान्तरण सहित बलियो शक्ति निर्माण गर्छन् भने कुनै बेला अन्तरसघर्ष तथा उसको मनोदशाले कुनै पक्ष वा व्यक्तिलाई हुत्याईदिन सक्छ।
निष्कर्ष
कम्युनिष्ट पार्टीमा सोलोडोलो संसदवादी एकता होइन,बैचारिक रुपान्तरणसहित कम्युनिस्ट एकता, आवश्यक छ।अमुर्त अन्तरबिरोधको कुरा गरेर पाखा लाग्नु भन्दा समाजवादी लक्ष्यमा आधारित बहसमा सहभागी हुनु र बस्तुनिस्ट निस्कर्ष अघि बढ्नु कम्युनिस्टहरुको कर्तव्य हो। समाजवादी रूपान्तरण मुल आधारहरू (जनसंगठन) जनआन्दोलन र वर्ग संघर्ष नै हुन्। समाजवादी लक्ष्य प्राप्तिका लागि स्पष्ट विचार, समाजवादको सिद्धान्त, उद्देश्य र मार्गबारे प्रतिबद्धता, अनिवार्य सर्त हुन् भने संगठित श्रमिक आन्दोलन किसान,युवा, बिध्यार्थी, महिलालगायत जनसमुदायको संगठित सहभागिता आवश्यक बिषय हुन।

प्रतिक्रियाहरु

[anycomment]