मन्त्रिपरिषद्को बैठक सुनसरी घटनाका बिषयमा मौन
काठमाडौँ। आज बुधबार अपराह्न ४ बजे बसेको मन्त्रिपरिषद्को बैठक सुनसरी घटनाका बिषयमा मौन रहेको छ। गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि वालेन्द्र शाह नेतृत्वको सरकारको भूमिकाबारे प्रश्न उठिरहँदा मन्त्रिपरिषद् मौन बसेको हो । बैठकमा प्रधानमन्त्री वालेन्द्र , देशको आन्तरिक सुरक्षाको जिम्मेवारी सम्हालेका गृहमन्त्री सुधन गुरुङसहित सबैजसो क्याबिनेटका सदस्य सहभागी थिए। तर मन्त्रिपरिषद्को उक्त बैठकले सुनसरीको तनावबारे एक शब्द खर्चेको पाइएन ।
बैठकपछि निर्णय सार्वजनिक गर्न सिंहदरबार परिसरमा उभिएका सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल सुनसरी तनावबारे जवाफ नदिई हतार हतार बाटो लागे बैठकबाट खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेकोसहित विभिन्न आठवटा विधेयकलाई संघीय संसद्मा लैजान स्वीकृति दिने निर्णय भएको पोखरेलले बताए । त्यसपछि उनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमय सम्बन्धी कसूरको अनुसन्धान अधिकारी तोक्ने निर्णय भएको बताए । अर्कातिर समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा खेटराज दाहाल (सिन्धुली) लाई मनोनयन गर्ने निर्णय गरेको पनि उनले सुनाए । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौँ संशोधन) नियमावली, २०८३ लाई स्वीकृत गर्ने निर्णय भएको पोखरेलले बताए । यति निर्णय सुनाएपछि पत्रकारहरू उनलाई सुनसरी तनावबारे प्रश्न सोध्न तम्तयार थिए । तर सधैँझै कालो चश्मा र टाइसुटमा सजिएका सरकारका प्रवक्ता सुनसरी तनाव र बालेन क्याबिनेटको अकर्मण्यताबारे जवाफ दिनुपर्ने भएपछि हतार हतार बाटो लागे।
पत्रकारले सोध्न खोजे, ‘मन्त्रीज्यू सुनसरीमा भएको घटनाबारे सरकारले के निर्णय गर्यो ? यसमा सरकारको धारणा के हो?’
पत्रकारबाट यति प्रश्न मात्रै आएको थियो, उनी हतार हतार ‘आज अर्को कार्यक्रममा जान हतार छ भन्दै बाटो तताए ।’ मन्त्री पोखरेललाई हतार हतार पत्रकारबाट छल्दै अघि बढाउनका उनका प्रेस सहयोगी सीबी अधिकारी पनि सक्रिय देखिए । देशलाई यति गम्भीर संकटमा लगिरहेको सुनसरी तनावबारे मन्त्री जवाफ नदिई हिँडेपछि त्यहाँ उपस्थित पत्रकार भने मुखामुख गरेर हेरिरहन बाध्य भएका थिए ।
