‘संसदीय राजनीतिले देश र जनताको वास्तविक समस्याको समाधान गर्न सक्दैन’

२०८३ श्रावण ८ गते, शुक्रबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीले संसदीय राजनीतिले देश र जनताको वास्तविक समस्याको समाधान गर्न नसक्ने ठोकुवा गरेका छन्। सो पार्टीद्वारा शुक्रबार रुपन्देहीको भैरहवामा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले संसदीय राजनीतिले देश र जनताका वास्तविक समस्या समाधान गर्न नसक्ने ठोकुवा गरे । उनले वर्तमान राजनीतिक व्यवस्थाले मुलुकलाई स्वाधीन बनाउनुको साटो झन्-झन् परनिर्भर र संकटग्रस्त बनाएको तथ्य प्रस्तुत गर्दै भने -‘संसदवादी हुनु भन्दा एक्लै भएपनि देश र जनताको पक्षमा लड्दा-लडदै बलिदान गरिन्छ, तर संसदवाद र साम्राज्यवादसँग आत्मसमर्पण गरिँदैन।’
यसैगरी, महासचिव विप्लव सीले क्रान्तिकारी बाटोबाट पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्दै संसदीय व्यवस्था र वैदेशिक हस्तक्षेपविरुद्ध आफ्नो पार्टी निरन्तर लडिरहने बताएका हुन्। उनले क्रान्ति र परिवर्तनको यात्रामा उतारचढाव आए पनि सिद्धान्त र निष्ठा छाडेर संसदीय दलदलमा पार्टी र नेतृत्व नफस्ने प्रष्टयाउदै देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता र जनताको अधिकारका लागि सम्झौताहीन संघर्ष नै आफ्नो पार्टीको मुख्य कार्यदिशा रहेको बताए ।
महासचिव विप्लव सीले नेपालको वर्तमान आर्थिक तथा राजनीतिक संकटको मुख्य कारण दलाल पूँजीवाद र वैदेशिक हस्तक्षेप भएको उल्लेख गर्दै उनले देशभक्त, वामपन्थी र क्रान्तिकारी शक्तिहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकतामा जोड दिए।
भैरहवामा भएको सो भेटघाट कार्यक्रममा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय वस्तुस्थिति र भावी राजनीतिक कार्ययोजनाबारे समेत छलफल भएको जनाइएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु