कंगोमा फैलिएको इबोला भाइरस घातक बन्न सक्ने !

२०८३ श्रावण २८ गते, बिहीबार


काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा.टेड्रोस एड्हानोम गेब्रेयससले प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा फैलिएको इबोलाको वर्तमान प्रकोप यही गतिमा अघि बढेमा हालसम्मकै सबैभन्दा घातक बन्न सक्ने चेतावनी दिएका छन्।
पत्रकारहरूसँग कुरा गर्दै टेड्रोसले सन् २०२६ को यो प्रकोपले सन् २०१४ देखि २०१६ सम्मको इबोला महामारीलाई पनि पछि पार्न सक्ने बताए। सो अवधिमा कम्तीमा ११ हजार मानिसको मृत्यु भएको थियो।
यस वर्षको इबोला प्रकोपको आधिकारिक घोषणा मे १५ मा गरिएको थियो। हालसम्म कम्तीमा ४,३०० जनामा संक्रमण पुष्टि भइसकेको छ भने २,००० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
डब्ल्यूएचओले बुधबार दिएको जानकारीअनुसार आगामी तीन महिनाभित्र भाइरसको फैलावटलाई नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ। तथापि, तीन महिनाभित्र यस रोगलाई पूर्ण रूपमा उन्मूलन गर्ने भन्ने अर्थ नरहेको डब्ल्यूएचओले स्पष्ट पारेको छ। हालको मुख्य लक्ष्य संक्रमणको फैलावट रोक्नु र यसको गति सुस्त बनाउनु मात्र हो।
स्वास्थ्य अधिकारीहरूका अनुसार मे महिनामा आधिकारिक घोषणा हुनुभन्दा कम्तीमा तीन महिनाअघि नै इबोलाको प्रकोप सुरु भइसकेको थियो।
डब्ल्यूएचओ अफ्रिकाका निर्देशक डा. मोहम्मद जनाबीले बूनिया शहरमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘हामी भाइरसको पछिपछि छौँ, तर भाइरस हामीभन्दा अगाडि छ।’
उनका अनुसार अनुसन्धानले यो भाइरस फेब्रुअरीदेखि नै फैलिन थालेको देखाएको छ। शुरुवातमा धेरै बिरामीमा इबोला पहिचान हुन सकेन र उनीहरूको लक्षणलाई मलेरिया वा टाइफाइड मानिएको थियो।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]