संरक्षणको पर्खाइमा हतुवागढीको ऐतिहासिक ‘फलाम ढुङ्गा’
काठमाडौँ । भोजपुरको हतुवागढी गाउँपालिका–४ मा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको ‘फलाम ढुङ्गा’ संरक्षणको अभावमा ओझेलमा पर्दै गएको छ। प्राकृतिक विशेषतासँगै ऐतिहासिक महत्व बोकेको यस क्षेत्रको संरक्षण र प्रवद्र्धन हुन नसक्दा पर्यटकीय सम्भावना भएर पनि अघि बढ्न सकेको छैन।
फलामसँग मिल्दोजुल्दो देखिने ढुङ्गा रहेकाले स्थानीयस्तरमा यस क्षेत्रलाई ‘फलाम ढुङ्गा’ नामले चिनिँदै आएको छ। ढुङ्गामा फलाममा जस्तै खिया देखिने भएकाले यसको नाम फलाम ढुङ्गा रहन गएको स्थानीयको भनाइ छ। ढुङ्गासँगै रहेको प्राकृतिक पोखरी यहाँको अर्को आकर्षण हो। संरक्षण र व्यवस्थापनको अभावमा पोखरी पुरिँदै गएपछि यसको मौलिक स्वरूप हराउँदै जान थालेको छ। स्थानीयका अनुसार फलाम ढुङ्गा र पोखरी यस क्षेत्रको पहिचानसँग जोडिएका महत्वपूर्ण सम्पदा हुन्। प्राकृतिक सौन्दर्यसँगै ऐतिहासिक महत्व बोकेको यस क्षेत्रको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसार गर्न सके आन्तरिक पर्यटक आकर्षित गर्न सकिने स्थानीय शिवराज राईले बताए।
‘फलाम ढुङ्गा र पोखरीलाई व्यवस्थित रूपमा संरक्षण गरेर पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सके यो क्षेत्र राम्रो पर्यटकीय गन्तव्य बन्न सक्छ’, उनले भने।
फलाम ढुङ्गा र पोखरीको संरक्षण तथा पर्यटकीय विकासका लागि हतुवागढी गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए। यो क्षेत्रको विकासका लागि डिपिआर तयार गरेर प्रदेश योजना आयोगमा पठाएर बजेट माग गरिरहेको भए पनि बजेट प्राप्त हुन नसकेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राई जानकारी दिए। निकै ठूलो रकम आवश्यक पर्ने भएकाले गाउँपालिकाले माथिल्लो निकायमा बजेटका लागि पहल गरिरहेको उनको भनाई छ।
‘यो हाम्रो क्षेत्रको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र हो,’ अध्यक्ष राईले भने, ‘यसको विकासका लागि माथिल्लो निकायमा पटक–पटक बजेट माग गरिरहेका छौँ। हालसम्म बजेट प्राप्त हुन सकेको छैन। गाउँपालिकाले यसलाई संरक्षण गरेर लैजाने लक्ष्यले लिएको छ।’
स्थानीय तहले संरक्षणको योजना कार्यान्वयन गर्दै पोखरी पुनःस्थापना, फलाम ढुङ्गाको संरक्षण तथा पर्यटकलाई आवश्यक पर्ने पूर्वाधार निर्माणमा ध्यान दिन सके यस क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीयको भनाइ छ।
हतुवागढी गाउँपालिका–४ खैराङका वडाध्यक्ष चन्द्रबहादुर विष्टले फलाम ढुङ्गा तथा पोखरीको संरक्षणका लागि डिपिआर तयार भए पनि आवश्यक बजेट व्यवस्थापन हुन नसक्दा काम अघि बढाउन समस्या भएको बताए। ‘हामीले यो क्षेत्रको विकासमा आवश्यक पहल गरिरहेका छौँ,’ वडाध्यक्ष विष्टले भने, ‘बजेट अभावमा यो क्षेत्रको उचित विकास गर्न सकिएको छैन।’
ढुङ्गा तथा पोखरीको संरक्षणसँगै यहाँ पर्यटकलाई लक्षित गरी विश्रामस्थल, खानेपानी, शौचालय, सूचना बोर्डलगायतका आधारभूत पूर्वाधार निर्माण आवश्यक रहेको स्थानीय जानकारहरूको भनाइ छ । संरक्षण र प्रवद्र्धनको अभावमा ओझेलमा परेको फलाम ढुङ्गालाई व्यवस्थित गर्न सके हतुवागढीको पर्यटन विकासमा समेत थप टेवा पुग्ने स्थानीयवासीले बताएका छन्। -रासस
