राष्ट्रिय सतर्कता केन्द्रद्वारा ७२ प्रतिशत उजुरी फर्छ्योट

२०८३ श्रावण २८ गते, बिहीबार


काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा ७२ प्रतिशत उजुरी फर्छ्योट गरेको छ। स्थापनाको २५औँ वर्ष प्रवेशका अवसरमा केन्द्रले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरेको वार्षिक प्रतिवेदनमा आव २०८२/८३ मा प्राप्त दुई हजार १३७ उजुरी र आव २०८१/८२ बाट सरी आएका ४२९ वटा उजुरी गरी कुल दुई हजार ५६६ उजुरीमध्ये एक हजार ८५४ वटा उजुरी फर्छ्योट भएको जनाएको छ। विसं २०५९ साल साउन २७ गते प्रधानमन्त्रीको प्रत्यक्ष रेखदेख र नियन्त्रणमा रहने गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३७ बमोजिम केन्द्र स्थापना भएको थियो।
केन्द्रले भ्रष्टाचारजन्य कार्यलाई प्रभावकारी रूपमा नियन्त्रण तथा भ्रष्टाचारविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले भ्रष्टाचार तथा अनियमिततासम्बन्धी प्राप्त सूचनाको छानबिन तथा उजुरी फर्छ्योट प्राथमिकताका गर्दै आएको छ। साथै सार्वजनिक जवाफदेहिताको पदमा रहेका व्यक्तिले आफू तथा आफ्नो परिवारको नाममा रहेको सम्पत्ति विवरण तोकिएको समयभित्र पेस गर्नुपर्ने कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनलाई पनि केन्द्रले प्राथमिकता दिँदै आएको छ।
केन्द्रले सचेतनामुलक स्टिकरको सार्वजनिककरण र सार्वजनिक सेवा सन्तुष्टि मापनको फारमको क्यूआर कोड सञ्चालनमा समेत ल्याएको जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]