राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पछिल्लोपटक धनीराम चौधरी र ललिता नाथलाई मनोनयन गरेपछि बोर्डमा खेलाडीको उपस्थिति बढेको हो।
राष्ट्रिय खेलकुद विकास ऐनबमोजिम रिक्त सदस्य पदमा मन्त्री पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट उनीहरूलाई मनोनयन गरेका हुन्। हाल प्रशिक्षकका रूपमा कार्यरत धनीराम पूर्वराष्ट्रिय धावक हुन् । उले ४०० र ८०० मिटरको दूरीमा कीर्तिमान कायम गरेका थिए । ललिता नाथ पूर्वराष्ट्रिय भलिबल खेलाडी हुन्। उनी पछिल्लो समय कर्णाली यश्विस टोलीमा आबद्ध थिइन्।
हाल राखेपको उपाध्यक्षमा विशाल श्रेष्ठ छन् । उनी पूर्वफुटबल खेलाडी (गोलकिपर) हुन् । बोर्ड सदस्य सिक्का सुवाल श्रेष्ठ पनि पूर्वटेबल टेनिस खेलाडी हुन् । उनी विश्व महिला टेबल टेनिस वरियतामा ५१० स्थानसम्म पुगेका थिए । उनी स्टयाग ग्लोबल च्याम्पियन लिग–२०८० को विजता पनि हुन्। बोर्ड सदस्यमा शक्ति गौचन पनि छन् । गौचन पूर्वक्रिकेटर हुन्। उनी कुशल प्रशिक्षक पनि हुन् । नेपाली क्रिकेटको विकासमा उनको ठुलो योगदान छ। बोर्ड सदस्य मोनालिसा खम्बु पनि पूर्वखेलाडी हुन् । उनी बुद्धिचालकी राम्रो खेलाडीका रूपमा परिचित छन्। सन् २००६ मा एसियन गेम्सका छनोटमा पर्नुभएकी उहाँ नेपालबाट पहिलोपटक अन्तर्राष्ट्रियस्तरमा महिला चेस खेलाडीका रूपमा सहभागी भएका थिए। नेपाली महिला खेलाडीमा उनी सबैभन्दा उच्च रेटिङ (१८७७) भएकी खेलाडी हुन्। पूर्वफुटबल खेलाडी पवन शाही पनि अहिले परिषद्को बोर्ड सदस्य छन्। – रासस
