ओली , प्रचण्ड र मोहनविक्रमबीच लुम्बिनीमा सरकार बनाउन दुई बुँदे सहमति
काठमाडौँ । नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (मसाल)बीच लुम्बिनी प्रदेशमा सरकार बनाउन दुई बुँदे सहमति भएको छ। बुधबार तीन दलबीच लुम्बिनी प्रदेश सरकार गठनसहित राष्ट्रिय राजनीतिक विषयमा सहकार्य गर्ने सहमति भएको हो ।
तीन दलका शीर्ष नेताले दुई बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन्। सहमतिको पहिलो बुँदामा लुम्बिनी प्रदेश सरकार गठन र त्यस प्रदेशका विकास निर्माणका कार्यमा सहकार्य गर्ने उल्लेख गरिएको छ।
त्यस्तै, दोस्रो बुँदामा राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रका पक्षमा तथा प्रतिगमनविरुद्ध हुने आन्दोलनमा सहकार्य गर्ने सहमति गरिएको छ।
बुधबार तीन दलबीच भएको छलफलपछि दुई बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले हस्ताक्षर गरेका छन्।
यो सहमतिबाट लुम्बिनी प्रदेश सरकार गठनमा तीन दलबीच सहकार्यको आधार तयार गरेको छ। सहमतिअनुसार लुम्बिनीको मुख्यमन्त्रीमा एमालेले निरन्तरता पाउनेछ।
८३ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ४२ सांसद आवश्यक पर्छन् । एमाालेसँग २९ र नेकपासँग १३ सांसद छन् । जनमोर्चासँग १ जना सांसद छन् ।
यसअघि नेपाली कांग्रेसले सत्ता छाडेकाले मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते विश्वासको मत लिने तयारी गरेका छन्।
