एनआरएनएको ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन सुरु हुँदै
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ आजदेखि चीनको पर्यटकीय सहर ग्वाङ्झाउमा सुरु हुँदै छ । ‘उदाउँदै सँगै, अघि बढ्दै नेतृत्व’ भन्ने मूल नाराका साथ आयोजना गरिएको यो सम्मेलन अगस्ट १६ सम्म सञ्चालन हुनेछ । सम्मेलनको उद्घाटन शनिबार बिहान औपचारिक रुपमा हुन्छ ।
सम्मेलनमा सहभागी हुन नेपालका प्रमुख राजनीतिक दलका नेता, सरकारी अधिकारी, एनआरएनएका केन्द्रीय तथा क्षेत्रीय नेतृत्व र विश्वभरका सयौँ प्रतिनिधि क्राउन प्लाजा ग्वाङ्झाउ सिटी सेन्टर होटलमा भेला भएका छन् ।
सम्मेलनमा सहभागी हुन नेपालबाट प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली कांग्रेसकी प्रमुख सचेतक बास्ना थापा, नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महर, नेकपाका सांसद युवराज दुलाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु मनिष झा, खगेन्द्र सुनार, सोम शर्मा तथा जगदिश खरेल ग्वाङ्झाउ आइपुगिसकेका छन् । त्यस्तै नेकपा एमालेका सांसद क्षितिज थेबे, राष्ट्रिय प्रजातन्त्र पार्टीकी खुस्बु ओली र श्रम संस्कृति पार्टीका एरेन राई पनि सम्मेलनमा सहभागी हुँदैछन् ।
एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, निवर्तमान अध्यक्ष डा. बद्री केसी, वर्तमान अध्यक्ष डा. हेमराज शर्मा, वरिष्ठ उपाध्यक्ष रोबिन प्रसाद शेरचन, उपाध्यक्षहरु खगेन्द्र न्यौपाने, रोजिना प्रधान राई, महेन्द्र ओली, दधिवाल खड्का, रबिन बज्राचार्य र महिला उपाध्यक्ष टीका गुरुङ लगायतको केन्द्रीय टोली ग्वाङ्झाउमा छ । महासचिव डा. चिरञ्जीवी खड्का, सचिव शिवप्रसाद पौडेल, महिला सचिव अमृता थापा ‘कञ्चन’ र कोषाध्यक्षहरु पनि सम्मेलनको विभिन्न सत्र सञ्चालनका लागि तयारी अवस्थामा छन् ।
सम्मेलनको औपचारिक सत्रलाई एसिया प्यासिफिक क्षेत्रीय संयोजक दीपक कँडेलले अध्यक्षता गर्नेछन् भने प्रमुख अतिथिका रुपमा भीष्मराज आङ्देम्बे रहेका छन् । कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भिडियो सन्देशमार्फत आफ्नो धारणा राख्नेछन् । स्वागत मन्तव्य एनसीसी चीनका अध्यक्ष मुकुन्द ढकालले दिने कार्यक्रम छ । चीनका लागि कार्यवाहक नेपाली राजदूत रोशन खनाल, ल्हासाका महावाणिज्य दूत लक्ष्मीप्रसाद निरौला, हङकङका कार्यवाहक महावाणिज्य दूत सतिश गुरुङ र ग्वाङ्झाउका महावाणिज्य दूत भरत खनालले पनि विभिन्न सत्रमा नेपाल-चीन सम्बन्ध र प्रवासी नेपालीका सवालमा सम्बोधन गर्नेछन् ।
सम्मेलनका दौरान विभिन्न प्लेनरी सत्रहरु सञ्चालन हुनेछन् । पहिलो सत्रमा गैरआवासीय नेपालीको नागरिकता, मताधिकार र लगानीका अवसरबारे गहन छलफल हुनेछ । जसमा डा. हेमराज शर्मा र डा. बद्री केसीले कार्यपत्र प्रस्तुत गर्नेछन् । दोस्रो सत्रमा एसिया प्यासिफिक क्षेत्रका एनसीसीहरुको सुदृढीकरण र एनआरएनएको ‘रि-ब्रान्डिङ’ बारे छलफल हुनेछ । तेस्रो सत्र सुरक्षित वैदेशिक रोजगार र पुन:एकीकरणमा केन्द्रित रहनेछ, जसको नेतृत्व खगेन्द्र न्यौपानेले गर्नेछन् । यसमा एकनाथ खतिवडाले मुख्य वक्ताका रुपमा धारणा राख्नेछन् ।
अगस्ट १६ मा ‘नेपाल प्रवर्द्धनमा डायस्पोराको शक्ति’ विषयमा छलफल हुनेछ । यसैगरी ‘महिला सशक्तीकरण र मानव बेचबिखन नियन्त्रण’ सम्बन्धी सत्रमा राधिका गुरुङ, खुस्बु ओली, शैलजा आचार्य लगायतले धारणा राख्नेछन् । दोस्रो पुस्ताका नेपालीको पहिचान र नेतृत्व विकासका लागि ‘इम्पावरिङ द सेकेन्ड जेनेरेसन’ सत्र आयोजना गरिनेछ, जसमा भीमसेन थापा र नवीन नेउरेले संयोजन गर्नेछन् । सोही दिन साँझ ‘ग्वाङ्झाउ घोषणापत्र २०२६’ जारी गर्दै सम्मेलनको समापन गरिनेछ । समापन समारोहमा १२औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन आयोजना गर्ने राष्ट्रको घोषणा समेत गरिनेछ ।
