अमेरिकाद्वारा नेपालका सांस्कृतिक र पुरातात्विक वस्तुको अवैध ओसारपसारमा प्रतिबन्ध

२०८३ श्रावण २९ गते, शुक्रबार


काठमाडौँ । अमेरिकाले नेपालका बहुमूल्य पुरातात्विक तथा सांस्कृतिक सम्पदाहरुको अवैध तस्करी र ओसारपसार नियन्त्रण गर्न त्यस्ता वस्तुहरुको आयातमा प्रतिबन्ध लगाएको छ।
अमेरिकाको होमल्यान्ड सेक्युरिटी अन्तर्गत कस्टम र बोर्डर सेक्युरिटी विभागले यससम्बन्धी नियम लागू गर्दै नेपालबाट अनुमतिबिना ल्याइने सांस्कृतिक वस्तुहरुको अमेरिका प्रवेशमा रोक लगाएको जनाएको हो। यो प्रतिबन्ध सन् २०२६ अगस्ट १२ देखि लागू हुनेछ र सन् २०३१ जनवरीसम्म कायम रहने भनिएको छ। गत जनवरीमा नेपाल र अमेरिकाबीच भएको द्विपक्षीय सांस्कृतिक सम्पत्ति सम्झौताका आधारमा यो निर्णय लिइएको हो।
प्रतिबन्धित वस्तुहरु पुरतात्विक ढुंगाका मूर्ति, ढुंगेधारा, तोरण, प्राचीन माटाका भाँडा तथा मूर्ति, धातुका मूर्ति, ऐतिहासिक सिक्का, पौभा/थांका, चित्रकला, मन्दिरका टुँडाल र प्राचीन पाण्डुलिपिहरु रहेका छन्। त्यस्तै, धार्मिक तथा परम्परागत रुपमा प्रयोग हुँदै आएका काठ, धातुका झ्याल र ढोका, बज्र, पूजाका घन्टी, मुखौटा र हस्तलिखित प्राचीन ग्रन्थहरु पनि रहेका छन्। अबदेखि नेपाल सरकारको आधिकारिक निर्यात प्रमाणपत्र बिना यस्ता सामग्रीहरुलाई अमेरिकामा प्रवेश दिइने छैन। यस कदमले नेपालका सम्पदाको चोरी र तस्करी नियन्त्रणमा ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ।
अमेरिकामा नेपालबाट चोरी र तस्करी भएर सयौं सम्पदा पुगेका छन्। तलेजुको बहुमूल्य र प्राचीन गहनासँगै कयौं सम्पदालाई फर्काउने प्रयास भइरहेको छ। तर, सफल हुन सकिएको छैन।

प्रतिक्रियाहरु

[anycomment]