देशका बिभिन्न स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना

२०८३ श्रावण २९ गते, शुक्रबार


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपाल नजिक अवस्थित छ। यसको प्रभावले मधेश, कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली (बादल) लागेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भई बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा र कोशी एवम् बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित मध्यम वर्षाको सम्भावना छ।
त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थान र बागमती प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना छ। यस्तै, तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ भने बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै रहनेछ।
भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबान र नदी-नालाहरूमा बहाव बढ्न सक्ने भएकाले सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु