खनिज क्षेत्रवाट ८९ करोड ४८ लाख राजस्व संकलन
काठमाडौँ । खानी तथा भूगर्भ विभागले खनिज पदार्थको उत्खनन, उत्पादन तथा निकासीबापत संकलन गर्ने राजस्वमा गत आर्थिक वर्ष करिब ७० करोड रुपैयाँले कमी आएको जनाएको छ।
विभागले आर्थिक वर्ष २०८१/८२ मा एक अर्ब ५९ करोड राजस्व संकलन गरेकामा आर्थिक वर्ष २०८२/८३ मा ८९ करोड ४८ लाख रुपैयाँ मात्र संकलन गरेको हो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा विभागको राजस्व संकलन करिब ४४ प्रतिशतले घटेको देखिन्छ।
विभागका प्रवक्ता एवं उपमहानिर्देशक गणेशनाथ त्रिपाठीका अनुसार खानी खोज तथा उत्खनन अनुमतिपत्र वितरण, इजाजत नवीकरण, भूबहाल, नक्सा तथा प्रतिवेदन शुल्कलगायतबाट विभागले राजस्व संकलन गर्दै आएको छ। उनका अनुसार देशमा औद्योगिक उत्पादन तथा आर्थिक विकास गर्ने उद्देश्यले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत खनिजजन्य वस्तुको उत्खननका लागि विभागले अनुमति प्रदान गर्दै आएको छ।
स्वदेशमा रहेका खनिज सम्पदाको अन्वेषणमार्फत खनिजजन्य उद्योगको विकास गर्ने उद्देश्यले विभागले टुर्मालिन, टल्क, क्वार्ज, काइनाइट, मार्बल, फलाम, जिङ्क, क्वार्जजाइट, म्याग्नेसाइट, डोलोमाइट र तामालगायत खानीका लागि अनुमति दिएको छ।
विभागले खानी अनुमति, खनिज प्रशोधन, अनुगमन तथा विवाद समाधान, पेट्रोलियमसम्बन्धी आर्थिक अध्ययन तथा प्रवर्द्धन, धातु तथा अधातु खनिज अन्वेषण, खानी ड्रिलिङ, इन्जिनियरिङ भौगर्भिक अध्ययन र भूकम्प मापनलगायतका काम गर्दै आएको छ।- रासस
