फागुपर्व मनाइँदै

काठमाडौं, – आज फागुपर्व परम्परागतरूपमा एकआपसमा विभिन्न रङ र लोला खेली मनाइँदैछ। आजै काठमाडौंको वसन्तपुरमा वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै गाडिएको चिरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउने प्रचलन छ। फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मयलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिङ्गारी गाडिएको चिरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ। यसैगरी ललितपुरमा उक्त दिन गाडिएको चिर आजै बागमतीमा लगेर सेलाउने गरिन्छ।
दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैं भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको हिन्दु धर्मशास्त्रहरूमा उल्लेख छ।
त्यसैबेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ। यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा सफल नभई प्राण त्याग्न पुगेकी र निजलाई व्रजवासीहरूले जलाई फागु महोत्सव मनाउने प्रथा चलेको जनश्रुति पनि छ। भैषज्यशास्त्रका ज्ञाताका अनुसार राम्रो तरिकाले तयार पारिएका रङ र अबिर छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुने र बालिएको चिरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ। फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ।