जापान एआई प्रयोगमा किन पछाडि ?
काठमाडौँ । विभिन्न अध्ययनले जापानी कम्पनीहरू कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोगका मामिलामा निकै सुस्त रहेको देखाएका छन् । गम्भीर श्रम अभाव, वृद्ध हुँदै गएको जनसंख्या र लामो समयदेखि कायम उत्पादकत्वको समस्याबीच जापानी कम्पनीहरू एआई प्रयोगका लागि सबैभन्दा उपयुक्त अवस्थामा हुनुपर्ने हो । तर, अमेरिका र बेलायतको तुलनामा जापानका धेरै कार्यस्थलमा एआईको प्रयोग अझै सुस्त र सावधानीपूर्ण छ ।
एआईप्रतिको जापानको प्रतिक्रिया त्यहाँको परम्परागत र सुस्त गतिमा अघि बढ्ने ‘नोह’ नाटकजस्तै देखिन थालेको छ । मञ्चमा मुखौटा लगाएका सबै पात्र तत्काल कदम चाल्नुपर्ने कुरामा सहमत हुन्छन्, गम्भीरतापूर्वक एउटै आह्वान दोहोरिन्छ, तर कलाकारहरू भने आफ्नै ठाउँमा स्थिर रहन्छन् । नाटकमा तनाव बढाउन यो शैली राम्रो होला, तर देशका तत्कालीन समस्या समाधान गर्न भने यो प्रभावकारी देखिँदैन ।
कार्यस्थलमा एआईको प्रयोगसम्बन्धी तथ्याङ्कले जापान पछाडि परेको देखाउँछ । आर्थिक सहयोग तथा विकास सङ्गठन (ओईसीडी) ले गत वर्षको अन्त्यमा प्रकाशित गरेको एउटा प्रतिवेदनअनुसार जापानमा केवल ८.४ प्रतिशत कामदारले मात्र आफ्नो काममा एआई प्रयोग गर्छन् । यसको तुलनामा अमेरिकामा यो दर ५० प्रतिशत र बेलायतमा ३२ प्रतिशत रहेको छुट्टाछुट्टै तथ्याङ्कले देखाउँछ । संयुक्त अरब इमिरेट्स (यूएई) पछि एसियामा सबैभन्दा धेरै एआई प्रयोग हुने र विश्वमै दोस्रो स्थानमा रहेको मानिएको सिङ्गापुरमा ५६ प्रतिशत कामदारले हप्तामा धेरैपटक एआई प्रयोग गर्ने बताइएको छ ।
जापान किन पछाडि परिरहेको छ ?
अमेरिकी ष्टार्टअप ‘क्युज एआई’ का सहसंस्थापक अष्टिन सुका अनुसार जापानी कम्पनीहरू रूढिवादी र जोखिम लिन नचाहने प्रवृत्तिका भएकाले एआई प्रयोगमा ढिलाइ भएको हो । उनको कम्पनीले हालै जापानी कम्पनीहरूलाई आफ्ना एआई प्रणाली बिक्री गर्न जापानमै कार्यालय स्थापना गरेको छ । सु भन्छन्, ‘केही संस्थामा प्रक्रिया र सहमतिमा आधारित संस्कृतिले वास्तवमै निर्णय प्रक्रियालाई सुस्त बनाउँछ । एआईका गल्तीप्रति सहनशीलता झन्डै शून्य हुन्छ, विशेषगरी ग्राहकसँग प्रत्यक्ष सम्बन्धित काममा । कतिपय कम्पनीले मेसिनलाई काम दिनुभन्दा कर्मचारीको पद नै खाली राख्न रुचाउँछन् ।’
उनका अनुसार अमेरिकाको अवस्था भने निकै फरक छ । त्यहाँ केही कम्पनीले उत्पादकत्व बढाउन एआई एजेन्टलाई धेरै स्वतन्त्रतासहित काम गर्न दिइरहेका छन् । ‘अमेरिकामा एआई सहकर्मीका रूपमा सहयोग गर्न प्रवेश गर्छ र बिस्तारै कार्यप्रणालीको हिस्सा बन्छ । त्यहाँका व्यवस्थापकको सोच प्रायः ‘पहिला प्रयास गर्न देऊ, गल्ती भए सुधारौँला’ भन्ने हुन्छ,’ उनी भन्छन् ।
जापानी कम्पनीहरूले एआईमाथि पर्याप्त विश्वास गरिनसकेको पनि सु बताउँछन् । क्योटो युनिभर्सिटी अफ एड्भान्स्ड साइन्सकी अन्तर्राष्ट्रिय व्यवस्थापनकी प्राध्यापक पारिसा हाघिरियन पनि धेरै जापानी कम्पनी जोखिम लिन नचाहने भएकाले एआई प्रयोग गर्न हिचकिचाइरहेको बताउँछिन् । उनका अनुसार जापानी कम्पनीमा एआई अपनाउने चुनौती अन्य कुनै नयाँ परिवर्तन अपनाउँदा जस्तै हो । त्यसैले विशेषगरी कार्यस्थलमा एआईको प्रयोग अझै सीमित र सावधानीपूर्ण छ ।
हाघिरियनले जापानको अवस्थालाई अमेरिकाको उद्यमशील संस्कृतिसँग तुलना गर्दै जापानी कम्पनीहरू गल्ती, अनिश्चितता र प्रतिष्ठामा पर्ने जोखिमप्रति निकै संवेदनशील रहेको बताइन् । ‘जेनेरेटिभ एआई अझै पूर्ण रूपमा विश्वसनीय नभएकाले जापानमा यसको प्रयोग मुख्यतः कम जोखिम भएका काममा भइरहेको छ । जस्तैः लेखन, सारांश बनाउने वा सूचना सङ्कलनमा । तर मुख्य सञ्चालन, निर्णय प्रक्रिया वा समग्र कार्यप्रणाली सुधारमा यसको प्रयोग निकै कम छ,’ उनी भन्छिन् ।
स्वास्थ्य क्षेत्र झन् सुस्त
जापानको स्वास्थ्य क्षेत्र एआई प्रयोगमा विशेषगरी पछाडि रहेको बताइन्छ । केही अस्पतालले अझै बिरामीका अभिलेखलाई पूर्ण रूपमा डिजिटल बनाउन सकेका छैनन् । जापानी अस्पतालका एक कर्मचारीले नाम नबताउने सर्तमा भने, ‘नसोचेको स्तरमा कागजी दस्तावेज थुप्रिन्छन् । यो त ढुङ्गे युगजस्तै छ ।’
जापानी सरकार एआई प्रयोग न्यून रहेको यो व्यापक समस्याबारे जानकार छ र कम्पनीहरूलाई यो प्रविधि अपनाउन प्रोत्साहित गरिरहेको छ । गत वर्ष जापानी संसद्ले एआई प्रवद्र्धनसम्बन्धी कानून पारित गरेको थियो । यो कानूनले हल्का नियमनमार्फत व्यवसायहरूलाई एआईमा थप लगानी गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ । टोकियोले जापानलाई ‘एआई विकास र प्रयोगका लागि विश्वकै सबैभन्दा अनुकूल देश’ बनाउने प्रतिवद्धता जनाएको छ ।
सरकारको विश्वास छ कि एआईको व्यापक प्रयोगले जापानको उत्पादकत्व बढाउन सहयोग गर्न सक्छ । विकसित राष्ट्रहरूको ‘जी–७’ समूहमा जापानको उत्पादकत्व स्तर अहिले पनि सबैभन्दा कमजोरमध्येमै पर्छ ।
जापानको अर्थ मन्त्रालयका अनुसार व्यवसायमा एआईको प्रयोग भने उल्लेख्य रूपमा बढेको छ । पाँच वर्षअघि ११ प्रतिशत कम्पनीले मात्र एआई प्रयोग गर्ने गरेकोमा अहिले ७५ प्रतिशत कम्पनीले एआई प्रयोग गरिरहेको मन्त्रालयको तथ्याङ्क छ । तर आलोचकहरूका अनुसार यी कम्पनीमध्ये प्रत्येकमा वास्तवमै एआई प्रयोग गर्ने कर्मचारीको संख्या निकै कम छ र प्रयोग गर्नेहरूले पनि सीमित रूपमा मात्र यसको प्रयोग गरिरहेका छन् ।
दक्ष जनशक्ति अभाव र पुराना कम्प्युटर प्रणाली
मेइजी विश्वविद्यालयका जापानी सामाजिक प्रणाली तथा प्रविधि विशेषज्ञ प्राध्यापक यासुशी ओगासावाराका अनुसार जापानको कार्यक्षेत्रमा प्रविधिमा दक्ष जनशक्तिको अभाव छ । ‘जापानीहरू स्मार्टफोनजस्ता प्रविधिसँग खेल्न मन पराउँछन्, तर यहाँ डिजिटल साक्षरता कम छ,’ उनी भन्छन् । यस वर्ष सार्वजनिक भएको एउटा प्रतिवेदनले सन् २०३० सम्म जापानमा करिब ८ लाख आईटी विशेषज्ञको अभाव हुने अनुमान गरेको छ ।
धेरै कम्पनी पुराना कम्प्युटर प्रणालीका कारण पनि समस्यामा छन् । करिव ६० प्रतिशत प्रणाली २० वर्षभन्दा पुराना रहेको बताइएको छ । ओगासावाराका अनुसार जापानी कम्पनीमाथि एआईका कारण रोजगारी गुम्न सक्ने अवस्था सिर्जना गर्नुभन्दा बेरोजगारी बढ्न नदिने दबाब बढी छ । ‘सरकार एआई, पुनः सीप विकास र डिजिटल सीपको कुरा गरिरहेको छ । तर व्यवहारमा मानव संसाधनलाई डिजिटल सीपतर्फ रूपान्तरण गर्न कठिन छ, किनभने पहिलो प्राथमिकता पूर्ण रोजगारी कायम राख्नु हो,’ उनी भन्छन् ।
यद्यपि, कर्मचारी भर्ना प्रक्रियामा भने केही परिवर्तन देखिन थालेको छ । केही कम्पनीले नयाँ स्नातक कर्मचारी नियुक्त गर्दा ‘एआई साक्षरता’ लाई प्राथमिकता दिन थालेका छन् । ठूला निजी कम्पनीमध्ये प्रमुख व्यापारिक कम्पनी ‘कानेमात्सु’ ले पनि एआईमा दक्ष नयाँ स्नातकहरूलाई नियुक्त गरिरहेको छ । गत अप्रिलमा कम्पनीमा आबद्ध भएकी उता यामागुचीले काममा आपूmले एआई निकै प्रयोग गर्ने बताइन् ।
‘म काममा एआई निकै प्रयोग गर्छु । मेरा धेरै सहकर्मीले पनि यसको धेरै प्रयोग गर्नुहुन्छ । हाकिमका लागि इमेल लेख्न, जटिल दस्तावेजको सारांश बनाउन, बैठक रेकर्ड गर्न तथा त्यसको सारांश बनाउन हामी एआई प्रयोग गर्छौँ,’ उनले भनिन् । तर, अमेरिकाको तुलनामा जापानमा धेरै चरणमा हुने जटिल कामलाई स्वचालित रूपमा सम्हाल्न सक्ने एआई प्रणालीको प्रयोग अझै लगभग सुनिँदैन ।
भविष्यप्रति खुला सोच राख्ने भनेर परिचित ओगासावाराको कम्पनीले भने त्यस्ता प्रणाली प्रयोगमा ल्याइसकेको छ । यद्यपि, ओगासावारा समग्र जापानमा परिवर्तन अझै सीमित रहेको बताउँछन् । ‘जापानी समाज पीडारहित सुधार चाहन्छ । त्यसैले कम्तीमा पनि गहिरो र तीव्र परिवर्तन गर्न कठिन छ भन्न सकिन्छ,’ उनी भन्छन् । जापानमा ठूलो परिवर्तन वा अवरोधलाई राम्रो दृष्टिले नहेरिए पनि अब एआईबिना देशलाई आवश्यक उत्पादकत्व वृद्धि हासिल गर्न कठिन हुन सक्ने देखिन्छ । –बीबीसीबाट
