विपद् प्रभावित क्षेत्रमा ‘ग्रीन आर्मी’ समूहको उपस्थिति : परिचालनबारे उठ्यो प्रश्न
काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसहितका सुरक्षा निकाय खोज तथा उद्धारमा खटिएका बेला ‘ग्रीन आर्मी नेपाल’ नामको समुह सैनिक शैलीको पोसाकमा देखिएपछि उनीहरूको परिचालन र समन्वयबारे प्रश्न उठेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओ तथा तस्बिरमा ‘ग्रीन आर्मी’ लेखिएको हरियो ब्याचसहित क्यामोफ्लाज शैलीको पोसाक, टोपी र काँधमा दर्जाजस्तो देखिने चिह्न लगाएका व्यक्तिहरू बाढी प्रभावित क्षेत्रमा देखिएका छन् । सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गरिएको एउटा भिडियोमा भनिएको छ, ‘नेपाल आर्मी भन्ने थाहा थियो, यहाँ त ग्रीन आर्मी पनि रहेछ ।’ प्रभावित क्षेत्रमा उनीहरू सैन्य पोसाक जस्तै देखिने चुस्ता लगाएर उपस्थित भएका छन् । स्थानीयहरूले प्रश्न गर्दा सो समूहका एक जना युवाले भनेका छन्- ‘हामी ग्रीन आर्मी हौँ, काठमाडौँदेखि आएको ।’
नेपाली सेना र प्रहरीका उच्च अधिकारीहरुका अनुसार उनीहरूले खोज तथा उद्धार गर्न सरकारका निकायसँग कुनै समन्वय गरेका छैनन् । बागमती प्रदेशका डीआईजी दीपक रेग्मीले ग्रीन आर्मीले प्रभावित क्षेत्रमा पुगेर काम गरिरहेको बारे आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘मलाई जानकारी भएन, म बुझौँला ।’
सैनिक प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले पनि त्यसबारे आफूलाई जानकारी नभएको बताए । उनले भने- ‘हामी बुझ्दैछौं ।’
सामाजिक सञ्जाल फेसबुकमा ‘ग्रीन आर्मी नेपाल काठमाडौँ’ नामको एउटा पेजमा उनीहरुको गतिविधि देखिने सामग्री पोस्ट गरेको भेटिएको छ । त्यहाँ उपलब्ध दुई वटा नम्बरमा फोन गर्दा ती नम्बरमा सम्पर्क हुन सकेन । त्यो पेजमा उल्लेख भएअनुसार स्कुल कलेजका विद्यार्थीहरूलाई आबद्ध गरेर सङ्गठन बनाएको र खोज तथा उद्धारमा परिचालन गरेको देखिन्छ ।
