‘फर्सी’ पौष्टिक खाद्य पदार्थ र सम्भावित आम्दानीको स्रोत
काठमाडौँ । फर्सीलाई गरीवको तरकारी भनेर हेप्ने गरिन्छ । केही सस्तो चिजको कुरा गर्नुप¥यो भने फर्सीको भाउमा पाइन्छ भनेर होच्याइन्छ । तर यसको मूल्य कम भएपनि महत्व र गुणभने निकै धेरै छ ।
फर्सीमा भिटामिन ए, फलाम, फाइबरलगायतका विभिन्न पौष्टिक तत्वहरु प्रसस्त मात्रामा पाइने भएकाले यसको नियमित सेवन स्वास्थ्यका लागि लाभदायक हुन्छ । अझ खुसीको कुरा त के भने फर्सीको नियमित सेवनले मोटोपनाबाट पीडित मानिसलाई आफ्नो तौल घटाउन समेत सहयोग गर्छ । फर्सीमा भिटामिन सी र ईसँगै बिटा क्यारोटिन पाइन्छ । यी पोषक तत्वहरुले छाला स्वस्थ्य राख्न महत्वपूर्ण भूमिका खेल्दछ । शरीरले प्राकृतिक रुपमा भिटामिन सी बनाउँदैन । त्यसैले फर्सीको सेवनबाट भिटामिन सी प्राप्त गर्न सकिन्छ । जसले चोटपटक र घाउ निको पार्न सघाउँछ । फर्सीमा पाइने भिटामिन ई एक महत्वपूर्ण एन्टिअक्सिडेन्ट हो, जसले भिटामिन सीसँगै सक्रिय भएर घामले हाम्रो शरीरमा पार्ने नकारात्मक प्रभाव र छाला सुख्खा हुनबाट जोगाउँछ । फर्सीमा पाइने भिटामिन ए वा बिटा क्यारोटिनले पनि छालाको सुरक्षा गर्छ । घामका पराबैजनी किरणबाट जोगाउँछ । साथै यसले घामबाट हाम्रो शरीर डढ्नबाट बचाउँछ । यसमा पाइने भिटामिन एले दृष्टि क्षमता घटेका वा अन्धोपन हुने समस्याबाट बचाउँछ । फर्सीमा हुने बिटा क्यारोटिन, भिटामिन सी र ईले दृष्टि क्षमता जोगाउनुका साथै वृद्धावस्थामा पनि दृष्टि क्षमता कमजोर हुनबाट जोगाउँछ । मधुमेह, मोटोपन र उच्च रक्तचाप सबैलाई समग्रमा मेटाबोलिक सिन्ड्रोम भनिन्छ । जसमा फर्सीको सेवनले यी समस्याबाट जोगाउँछ । फर्सीको सेवनले रोग प्रतिरोध क्षमता बढाउन भुमिका खेल्दछ । साथै पाचनप्रणाली पनि राम्रो बनाउँछ । फर्सीमा पाइने क्यारोटिनोइड, भिटामिन ए र भिटामिन ईजस्ता एन्टिअक्सिडेन्टले स्तन क्यान्सरबाट जोगाउँछ । साथै फोक्सोको क्यान्सर घटाउन मद्दत गर्दछ ।
यसैगरी, फर्सीको पात वा मुन्टा खानाले हामी विभिन्न रोगबाट जोगिन सक्छौँ । फर्सीको पातको साग वा फर्सीको मुन्टा खानुको फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । फर्सीको साग विभिन्न पौष्टिक तत्वले भरिएको हुन्छ । फर्सीको मुन्टा भिटामिन ई, सी, ए, बी–६, पोेटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेशियम, आइरन, फाइबर, फस्फोरस जस्ता खनिज पदार्थको राम्रो स्रोत हो । मानव स्वास्थ्यलाई स्वस्थ राख्नको लागि शरीरमा यी सबै खनिज तथा पौष्टिक तत्वको आवश्यकता पर्दछ ।
युएसडीए नेशनल न्युट्रिएन्टको अध्ययन अनुसार फर्सीको पातमा यति धेरै गुणहरु हुन्छ कि जसले खतरनाक रोगबाट जोगिन मद्दत गर्छ । फर्सीको साग आफ्नो नियमित भोजनमा खानुहुन्छ भने उच्च रक्तचाप, कोलेष्ट्रोल, क्यान्सर जस्ता खतरनाक रोगबाट सुरक्षित बन्न सकिने चिकित्सकहरु बताउँछन् ।
फर्सीको पातमा पाइने एन्टी–अक्सीडेन्टले बढ्दै गरेको उमेरलाई छेक्दै जवान देखाउनमा सहयोगी हुन्छ । मानिसहरुमा उच्च कोलेष्ट्रोलको समस्याले पीडा दिएको हुन्छ । तर, कोलेष्ट्रोलको समस्याबाट राहत पाउनका लागि फर्सीको मुन्टाको साग भने निकै उत्तम मानिन्छ । फर्सीको पातमा पाइने फाइबरले कोलेष्ट्रोललाई नियन्त्रण गर्नुका साथै तपाईँको मुटुलाई पनि स्वस्थ राख्नमा सहयोग पु¥याउँछ । त्यस्तै फर्सीको मुन्टाको साग खाँदा आँखा तेजिलो बन्छ । फर्सीको पातमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ । जुन हाम्रो आँखाको लागि राम्रो मानिन्छ । यसले प्रजनन क्षमतामा समेत वृद्धि गर्ने गर्छ । फर्सीको मुन्टाको सागले नष्ट भएको टेष्टीकुलर र स्पर्म बन्ने प्रक्रियालाई मद्दत पु¥याउँछ । जसको मद्दतले प्रजनन क्षमतामा वृद्धि हुन्छ । त्यस्तै, छालाका सुन्दर बनाउँ पनि फर्सीको मुन्टा विशेष मान्छि । फर्सीको पातमा पर्याप्त मात्रामा भिटामीन सी पाइन्छ । जुन तपाईँको छालाको लागि फाइदाजनक हुन्छ । भिटामीन सी ले छालामा भएको मृत तन्तुलाई जीवित बनाउन मद्दत गर्नुका साथै छालालाई स्वस्थ बनाइ राख्छ । यसले मधुमेह रोग नियन्त्रणमा पनि मद्दत पु¥याउँछ । फर्सीको मुन्टामा हाइपोग्लिसिएमिक नामक तत्व हुन्छ जसले ग्लुकोजको मात्रालाई कम गर्नमा मद्दत गर्छ । त्यतिमात्र नभएर फर्सीको मुन्टामा खतरनाक रोग क्यान्सरालाई समेत निको पार्ने गुण हुन्छ । फर्सीको पातमा पाइने फाइबरले क्यान्सर कोषीकाहरुलाई रोक्नमा मद्दत पुर्याउने चिकित्सकहरु बताउँछन् । यसले पाचन प्रणालीलाई स्वस्थ राख्छ, पाँचन प्रणाली स्वस्थ हुनु भनेको अधिकांश रोगबाट छुटकार पाउनु पनि हो ।
यसैगरी, फर्सीको बियाँ, पोषणका हिसाबले उपयोगी मानिन्छ । यसमा प्रोटिन, स्वस्थ बोसो, फाइबर, म्याग्नेसियम, जिंक, आइरन, फस्फोरसलगायत शरीरका लागि आवश्यक विभिन्न पोषक तत्व पाइन्छन् । त्यसैले उचित मात्रामा फर्सीको बियाँ खानाले दैनिक खानामा थप पोषण पु¥याउन सहयोग गर्न सक्छ । यसमा पाइने स्वस्थ बोसो र म्याग्नेसियमले मुटु तथा रक्तसञ्चार प्रणालीको सामान्य स्वास्थ्यमा सहयोग पु¥याउन सक्छ भने जिंक शरीरको सामान्य प्रतिरक्षा प्रणालीका लागि आवश्यक खनिज हो ।
त्यस्तै, फर्सीको बियाँमा पाइने म्याग्नेसियम, फस्फोरसजस्ता खनिजले हड्डीको सामान्य स्वास्थ्यमा भूमिका खेल्छन् । फाइबर पाइने भएकाले यसलाई उचित मात्रामा सेवन गर्दा पाचन प्रणालीलाई नियमित राख्न सहयोग पुग्न सक्छ । प्रोटिन र स्वस्थ बोसोका कारण फर्सीको बियाँ पौष्टिक खाजाका रूपमा पनि प्रयोग गर्न सकिन्छ । यसमा विभिन्न एन्टिअक्सिडेन्ट तथा वनस्पतिजन्य यौगिकसमेत पाइने भएकाले शरीरका कोषलाई अक्सिडेटिभ क्षतिबाट जोगाउन सहयोग गर्न सक्छ । म्याग्नेसियमले स्नायु तथा मांसपेशीको सामान्य कार्यमा भूमिका खेल्छ भने आइरन शरीरमा हेमोग्लोबिन निर्माणका लागि आवश्यक पोषक तत्व हो ।
फर्सीको बियाँलाई घरमै पनि विभिन्न तरिकाले प्रयोग गर्न सकिन्छ । बियाँलाई राम्रोसँग सफा गरेर हल्का भुटेर खाजाका रूपमा खान सकिन्छ भने सलाद, चटनी तथा अन्य परिकारमा समेत मिसाउन सकिन्छ । यसरी हेर्दा सामान्यतया फालिने फर्सीको बियाँलाई नै पौष्टिक खाद्य पदार्थका रूपमा प्रयोग गर्न सकिन्छ ।
किसानका लागि भने बियाँको उचित व्यवस्थापन झन् महत्वपूर्ण हुन्छ । फर्सी काटेपछि बियाँ छुट्याएर सफा गर्नुपर्छ र राम्रोसँग घाममा सुकाउनुपर्छ । पर्याप्त नसुकाई भण्डारण गर्दा ओसका कारण ढुसी लाग्ने, गुणस्तर बिग्रने र बिक्रीयोग्य नहुने समस्या आउन सक्छ । त्यसैले बियाँलाई पूर्ण रूपमा सुकाएर ओसिलोपन नपस्ने गरी सुरक्षित स्थानमा राख्नुपर्छ ।
फर्सी खेती गर्ने किसानले फलसँगै बियाँको पनि मूल्य बुझ्न सके यसबाट थप आम्दानी लिन सक्ने सम्भावना छ । घरमा प्रयोग गर्न मिल्ने बियाँ घरमै राख्ने र बाँकी बियाँलाई सफा, सुक्खा र सुरक्षित अवस्थामा भण्डारण गरी बजारको माग तथा मूल्यअनुसार बिक्री गर्ने हो भने फर्सी खेतीबाट हुने आम्दानीमा थप योगदान पुग्न सक्छ । त्यसैले फर्सीको बियाँलाई फाल्ने वस्तु होइन, सदुपयोग गर्न सकिने पौष्टिक खाद्य पदार्थ र सम्भावित आम्दानीको स्रोतका रूपमा लिन सकिन्छ ।
