दुवै हात नभएका टैटु कलाकार

काठमाडौं । अमेरिकाको हवाईमा जन्मिएर एरिजोनमा पढेहुर्केका २७ वर्षीय ब्रेन तगालोग अहिले प्रोफेशनल टैटु कलाकार हुन् । तर आश्चर्यको कुरा उनी यस्ता टैटु कलाकार हुन् जसको दुवै हात छैन । ब्रेनले कहिल्यै पनि आफ्नो शारीरिक कमजोरीलाई सामान्य जीवन जिउने बाटोमा व्यवधानका रुपमा लिएनन् । आफ्नो खुट्टाको उपयोग गर्दै उनी कयौ कठिन काम जस्तो कि कार चलाउनु, विमान उडाउनु, टैटु डिजाइन गर्नु आदिमा सहजै प्रयोग गर्दछन् । हवाईमा जन्मिएका उनी आफ्नो परिवारका साथ एरिजोन निवासी हुन् । त्यहाँ उनले सन्नीसाइड हाई स्कुल र युनिभर्सिटी अफ एरिजोनामा उच्च शिक्षा हासिल गरे । उनलाई सुरुबाटै चित्रकारितामा इच्छा थियो । त्यसैले उनले प्रोफेशनल टैटु आर्टिस्ट बन्ने सपना आफ्नो दिमागमा सजाएका थिए । कतिपयले त उनलाई आफ्नो शरीरमा टैटु बनाउने अवसर पनि दिएनन् । तर, विस्तारै विस्तारै उनले आफ्नो खुट्टाले चित्रकारिताको कला सिके । उनकी आन्टीले उनलाई पहिलो टैटु गन किनिदिइन् । उनले आफ्नो खुट्टाले त्यो चलाउन सिके र आज उनी ख्यातिप्राप्त टैटु बनाउन माहिर छन् ।
ब्रेन भन्छन्– मेरो दुवै हात थिएन । तर, म यो कुराबाट कहिल्यै निराश भइनँ । करिब ११ वर्षपहिले म सर्टिफाइड टैटु आर्टिस्ट बनेँ । तैपनि एउटा यस्तो पसल खोज्नु कठिन थियो, जसले मलाई काममा राखोस । उनले भने– जहाँ पनि मलाई आश्वासन दिएर टार्ने गरिन्थ्यो । जहाँ जान्थेँ सबैले मलाई खाली भएपछि बोलाउँछौ मात्र भन्थे । तर कतैबाट पनि कहिल्यै कसैको फोन आएन ।त्यसपछि ब्रेनले टैटु बाई फुटको नामबाट आफ्नै पसल खोले । र, उनी त्यही पसलबाट सफल बनेका छन् । ब्रेन भन्छन्– हात नभएको संसारकै म एक मात्र सर्टिफाइड टैटु आर्टिस्ट हुँ । – एजेन्सी