अमेरिकामा भीषण आँधी
आँधीका कारण अमेरिकाको ओक्लाहोमा शहरमा कम्तीमा ५१ जनाको ज्यान गएको छ ।
३ सय २१ किलोमिटर प्रतिघण्टाको दरले आँधी चलेपछि ओक्लाहोमाको दक्षिणी मूरे उपनगर सबैभन्दा धेरै प्रभावित भएको छ ।
त्यहाँ दर्जनौं घर र विद्यालयहरु भत्किएका छन् । विद्यालय छुट्टी हुने बेलामा आँधी चलेकाले धेरै स्कुले बालबालिका प्रभावित भएका छन् ।
भत्किएका भवनमा थुप्रै बालबालिका पुरिएको हुनसक्ने आशंकामा उद्धारकार्य तिव्र पारिएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।
आँधीमा परी ७० बालबालिका सहित १ सय २० जना घाइते भएका छन् । आँधीको प्रभाव आइवा, कान्सास, टेक्सास र मिन्नेसोटामा पनि परेको छ ।
मूरे क्षेत्रमा सन् १९९९ मा पनि भीषण आँधी आएको थियो । त्यतिबेला हावाको बेग पृथ्वीको सतहमा अहिले सम्मकै बढी ४ सय ८६ किलोमिटर प्रतिघण्टा रेकर्ड गरिएको थियो ।