घरमा शौचालय र बिजुली नभएपछि ….

काठमाडौ, २९ बैशाख । भारत मध्य प्रदेशस्थित सिहोर जिल्ला प्रशासनले घरमा शौचालय नभएको र बिजुली नजोडेको भन्दै बिबाहमा हेलिकोप्टर प्रयोगमा रोक लगाएको छ । जिल्ला प्रशासनले घरमा शौचालय बनाएपछि मात्र अजमल नगरका ५० वर्षीय किसान सुरज सिंह गुर्जरलाई हेलिकोप्टरमा दुलही भित्राउने अनुमति दिएको छ । यसपछि सुरजले छोराका लागि हेलिकोप्टरमा बुहारी भित्राउन शौचालय बनाउने सर्त स्वीकार गरेका छन ।
सुरज सिंह छोराको विवाहमा जति पनि खर्च गर्न तयार थिए । यो उनको जुँगाको इज्जतको सवाल थियो । त्यसैले उनी शौचालय बनाउन राजी भए । छोराको विवाह २५ अप्रिलमा तय भएको थियो । प्रशासनले शौचालय बनाउनुपर्ने सर्त राखेपछि उनले विवाहको एक दिनअघि मात्र शौचालय निर्माण गराएका हुन् । यो हेलिकोप्टर प्रयोगका लागि शौचालय र विद्युत जडान गर्न लगाएको पहिलो घटना भएको बताइएको छ । सुरज सिंह हेलिकोप्टरका लागि जति रकम खर्च गर्न तयार थिए, गाउँदेखि २० किलोमिटर टाढा सहरबाट उनको गाउँसम्म लग्जरी कारको लाइन लगाउँदा पनि पैसा बच्ने अवस्था थियो ।
घटनाअनुसार सिहोर जिल्लाको श्यामपुर गाउँ पन्चायन अजमत नगरका किसान सुरज सिंह गुर्जरका कान्छा छोरा नेमसिंह गुर्जरको विवाह गाउँदेखि २० किलोमिटर टाढा ग्राम महुआखेडा निवासी महेन्द्र सिंह गुर्जरकोमा तय भएको थियो । सुरज सिंह छोराको विवाह शानसँग गर्नका लागि हेलिकोप्टरमा दुलही भित्राउने योजना बनाए ।
यसका लागि हेलिकोप्टर एजेन्सीसँग सम्पर्क गरेर ७० हजार भारतीय रुपैयाँ प्रतिघण्टको हिसावले १२ घण्टाका लागि करिब ५ लाख रुपैयाँ जम्मा पनि गराए । तर हेलिकोप्टर उत्रनका लागि उनले जिल्ला प्रशासनमा निवेदन दिए । तब गाउँ पुगेका जिल्ला प्रशासनका कर्मचारी कुलदीपक दुबे घरको अवस्था हेरेर आश्चर्यमा परे । उनले हेलिकोप्टर प्रयोगका लागि अनुमति दिन अस्वीकार गरे । किसानको अनुरोधमा उनले भने–जुन घरमा शौचालय छैन, बिजुली छैन, त्यस्तो घरको मुखियालाई दुलही भित्राउन हेलिकोप्टर उडान अनुमति दिन सकिँदैन । यदि हेलिकोप्टर प्रयोग गर्ने नै हो भने पहिला शौचालय बनाउ, बिजुली जोड, त्यसपछि हेलिकोप्टरमा बुहारी ल्याउने सोच बनाऊ ।
जिल्ला प्रशासनले यस्तो सर्त राखेपछि किसान सुरज सिंहले पनि तत्काल स्वीकार गरे । उनले घरमा शौचालय पनि बनाए, बिजुली जोड्न तत्काल रकम पनि जम्मा गरे । त्यसपछि जिल्ला प्रशासनले हेलिकोप्टर प्रयोगको अनुमति पनि दियो । – एजेन्सी