जापानी प्रधानमन्त्री म्यानमारमा

२०७० जेष्ठ १० गते, शुक्रबार

टोकियो, । जापानी प्रधानमन्त्री सिन्जो अबे म्यानमारको औपचारिक भ्रमणका लागि शुक्रबार त्यसतर्फ लाग्नुभएको समाचार छ । उहाँले आजदेखि तीन दिनसम्म म्यानमार भ्रमण गर्नुहुने भएको छ ।उहाँ शुक्रबार म्यानमारका लागि प्रस्थान गर्नुभएको जानकारी जापानी मन्त्रिपरिषद्का प्रमुख योसिहिदो सुगाले दिनुभएको छ । ओबेले म्यानमारसँगको सम्बन्धका साथै आर्थिक लगानी लगायतका क्षेत्रमा पनि कुराकानी गर्नुहुने बताइएको छ ।दक्षिण–पूर्वी एसियाली यस राष्ट्रमा जापानी प्रधानमन्त्रीको ३६ वर्षपछि पहिलो पटक भ्रमण गर्न लागेको पनि जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।उक्त भ्रमणको क्रम प्रधानमन्त्री अबेसँग जापानी व्यापारी नेताहरूको समूह पनि सहभागी रहेको छ । भ्रमणका क्रममा व्यापारिक तथा लगानीका विषयमा पनि कुराकानी हुने अनुमान गरिएको छ ।तीनदिने सो भ्रमणका क्रममा उहाँले म्यानमारका राष्ट्रपति थाँ सेनसँग भेटवार्ता गर्नुहुने छ । उहाँले सो क्रममा लगानीका साथै आर्थिक क्षेत्रका विभिन्न एजेण्डामा पनि कुराकानी गर्नुहुनेछ ।भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुअघि प्रधानमन्त्री अबेले जापानले म्यानमारको सार्वजनिक तथा निजी क्षेत्रको सुधारका लागि सहयोग गर्ने बताउनुभएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।यस भ्रमणको क्रममा म्यानमारका उच्चस्तरीय नेता र वरिष्ठ अधिकारीसँग द्विपक्षीय आर्थिक सहयोगको छलफल हुने सुगाले बताउनुभयो ।
गत अप्रिलमा म्यानमारको विपक्षी दलका नेत्री आङ सान सुकीले गर्नुभएको जापानको भ्रमणका क्रममा म्यानमारमा लगानीका लागि आग्रह गर्नुभएको थियो ।सो भ्रमण पनि सुकीले २७ वर्षपछि गर्नुभएको सञ्चारमाध्यमहरुले बताएका थिए । म्यानमारले हालैका केही वर्षयतादेखि प्रजातान्त्रिक सुधारका क्षेत्रमा काम गरिरहेकाले विश्वका नेताहरुले सो देशको भ्रमण गरिरहेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]