भोक लागेपछि ….

काठमाडौँ, १९ असार । सामान्यतया बाख्रा रुखमा चढ्दैनन् । तर मोरक्कोमा बाख्रालाई भोकले रुख चढ्न बाध्य तुल्याएको छ ।
मोरक्कोका बाख्राको यही बाध्यता कतिपय सोसल नेटवर्किङ साइटमा भाइरल पनि भएको छ । बाख्रा रुख चढेका केही तस्वीर फेसबुक, ट्वीटरमा भाइरल बनेका हुन् ।
फोटोग्राफर मोरिजियो पुन्टुरी, मिचाइल चिन्नीसी लगायतले मोरक्कोका बाख्राका तस्वीर र भिडियो सार्वजनिक गरेपछि भाइरल बनेका हुन् । उनीहरुका अनुसार त्यहाँका बाख्रा स्याउला खानकै लागि ३० फिट अग्लो रुखमा समेत चढ्ने गरेका छन् । मोरक्कोका सुख्खा र मरुभूमि क्षेत्रमा बाख्राले घाँस तथा स्याउलाका लागि ठूलो संकट सामना गर्नु परेको छ । चट्टानमा हिँडेर चर्न बानी परेका बाख्रा यदाकदा पाइने रुखमा समेत चड्न थालेका छन् ।
स्थानीयबासीका अनुसार बाख्राका लागि घाँसको जोहो गर्न निकै कठिन छ । त्यसैले बाख्रालाई पहाडी क्षेत्रमा लगेर छाड्ने गरिएको छ । बाख्राको संख्या बढी भएका कारण बुट्यान तथा घाँसले मात्र उनीहरुको पेट भर्न सम्भव छैन । त्यसैले अग्ला रुखमा चढ्न बाख्रा अभ्यस्त हुन थालेका छन् ।-एजेन्सी