पुल नभएपछि ….

काठमाडौं, २ असोज । भारतको बिहारस्थित भागलपुर जिल्लामा एउटा यस्तो गाउँ छ जहाँ पाँच सय युवतीहरु आफ्नो लागि श्रीमान्को पर्खाइमा छन् । यसरी एउटा मामुली गाउँमै पाँच सय जना युवतीहरु बिहे गर्न नपाएर त्यसै थन्किनु परेको घटना सानो होइन, र पर्नेलाई मात्र पीरको पीडा थाहा हुन्छ । वास्तवमा सन्हौली नामक उक्त गाउँका सयौँ युवतीहरु बिहे नै गर्न नपाएर जोवन ढल्काउँदै जान बाध्य हुनुको कारण एउटा नदी रहेछ । सन्हौली गाउँका युवतीहरुलाई बिहे गर्न छिमेकी कुनैपनि गाउँका युवाहरुले चाहँदैनन् । किनकी गाउँका केटी बिहे गरेपछि ससुराली आउन जान निकै गाह्रो छ । उक्त गाउँमा पुग्नका लागि चान्दन नामक नदी तर्नुपर्छ । नदीमा पुल छैन । पुलकै अभावमा छिमेकी गाउँहरु उक्त गाउँसँग रोटीबेटीको सम्बन्ध राख्न चाहँदैनन् । सोही कारण उक्त गाउँमा पछिल्लो २० वर्षदेखि कुनैपनि चेलीहरुको बिहे भएको छैन । सन्हौली गाउँको जनसंख्या ६ हजार जति छ । बिहे गर्ने उमेरका तरुनीहरु टन्नै छन् तर २० वर्षदेखि त्यो गाउँमा कोही पनि जन्ति आएको छैन । गाउँलेहरु आफैले चान्दन नदीमा एउटा कच्ची पुल बनाएका छन् । सोही जोखिमपूर्ण पुल तरेर गाउँलेहरु सहर जाने वा आफ्नै दैनिकी चलाउन गाउँ बाहिर जाने र घर फर्किने गर्दछन् । जोखिमपूर्ण पुल तर्नु कम्ता जोखिमपूर्ण छैन । गाउँलेहरुले त आफ्नै गुजाराका लागि जोखिम मोल्नैपर्यो तर छिमेकी गाउँका मानिसहरुले सन्हौली गाउँमा नाता गाँसेर यस्तो जोखिम उठाउन चाहँदैनन् ।