यि हुन् पुटिनको प्रेमिका

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनको डिभोर्स अहिले निकै चर्चामा छ । उनको डिभोर्सपछाडिको कारण मानिएको छ–एक ३० वर्षीया सुन्दरी, जो जिम्न्यास्टिककी पूर्व ओलम्पिक विजेता हुन् ।
पुटिनभन्दा आधा उमेरकी एलिना काबाएभाको लामो समयदेखि पुटिनसित अन्तरंग सम्बन्ध रहेको मानिन्छ । उनीहरुले गोप्य रुपमा सन्तानसमेत जन्माइसकेको केही अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।पुटिनले आफ्नी श्रीमतीसँग सम्बन्ध विच्छेदको घोषणा गरेपछि अब यो जोडीले औपचारिक रुपमा बिहे गर्ने अनुमान गरिएको छ । ६० वर्षीय पुटिनले एउटा टेलिभिजन कार्यक्रममा यसै साता आफ्नी ५५ वर्षीया श्रीमती ल्युडमिलासित सम्बन्ध तोड्ने घोषणा गरेका थिए । ल्इुडमिला पूर्वएयर होस्टेज हुन् । तीन दशकदेखि दाम्पत्य सम्बन्धमा रहेका उनीहरुका दुई छोरी छन् ।
औपचारिक रुपमा सम्बन्ध विच्छेदको घोषणा गरे पनि उनीहरुको अनौपचारिक विभाजन भइसकेको मस्कोमा ‘ओपन सिक्रेट’ का रुपमा रहेको छ । पुटिनले सन् २००८ मा एउटा रेष्टुरेन्टमा एलिनासित टङ–किस गरिरहेको समाचार सञ्चार माध्यममा आएको थियो ।
सम्बन्ध विच्छेदपछि पुटिनले अब के गर्लान् भन्ने कौतुहलता मस्कोमा व्यस्त छ । उनले एलिनासित अर्को बिहे तत्कालै गर्ने कुराको राष्ट्रपतिको कार्यालयले खण्डन गरेको छ । पुटिनका प्रवक्ता दिमित्री प्रेस्कोभले भने–अब उहाँसित पारिवारिक विषयका लागि कुनै समय छैन । केवल देशको जिम्मेवारी मात्र छ । गत महिना एलिनाले एक अन्तर्वार्तामा पुटिनसितको सम्बन्धबाट कुनै सन्तान भएको कुरा इन्कार गरेकी थिइन् । एजेन्सी