आडवाणीको राजीनामा फिर्ता
नयाँदिल्ली, २९ जेठ- सोमबार भारतीय जनता पार्टीको सबै नेतृत्वबाट राजीनामा दिएका वरिष्ठ नेता लालकृष्ण आडवाणीले ती पदमै रहने संसदीय बोर्डको आग्रहलाई स्विकार्ने निर्णय गरेको भाजपाका अध्यक्ष राजनाथ सिंहले मंगलबार बताएका छन् । ‘आडवाणीले पार्टीको जुनसुकै निर्णय पनि स्विकार्ने बताउनुभएको छ,’ राजनाथ सिंहले आडवाणीको भनाइ उद्धृत गर्दै भने । गुजरातका मुख्य मन्त्री नरेन्द्र मोदीलाई चुनावी अभियान समितिका प्रमुखमा चयन गर्ने पार्टीको निर्णयको विरोधमा नेता आडवाणीले सोमबारबाटै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । तर, मंगलबारको घटना विकासक्रमले भाजपामा गहिरिँदै गएको संकट केही हद निदान गरेको छ । आडवाणीले पार्टी सञ्चालनमा त्रुटि देखिएको भन्दै राष्ट्रिय कार्यकारी, संसदीय बोर्ड र निर्वाचन समितिबाट राजीनामा दिएका थिए । तर, उनी पत्रकार सम्मेलनमा भने सहभागी भएका थिएनन् । ‘आरएसएस प्रमुख मोहन भागवतले आडवाणीले पार्टीको संसदीय बोर्डको निर्णय स्विकार्न र राष्ट्रिय हितको पक्षमा निरन्तर दिशानिर्देश गर्न आग्रह गर्नुभएको थियो । उहाँले भागवतको आग्रहलाई स्विकार्नुभएको छ,’ सिंहले संवाददाताहरूसँग मंगलबार साँझ भने । सोमबार अटल बिहारी बाजपेयीपछि पार्टीका बयोवृद्ध संस्थापक नेता मानिने ८५ वर्षीय आडवाणीले संसदीय बोर्ड, राष्ट्रिय कार्यकारी र निर्वाचन समितिलगायत पार्टीका सबै मुख्य पदबाट राजीनामा दिएका थिए । राजीनामामा आडवाणीले ‘भाजपा अब श्यामाप्रसाद मुखर्जी, दिनदयाल उपाध्याय, नानाजी देशमुख र बाजपेयीले स्थापना गरेको उस्तै आदर्शवादी पार्टी नरहेको’ उल्लेख गरेका थिए । ‘पार्टीको अहिलेको काम गर्ने प्रवृत्ति र अघि बढिरहेको दिशासँग समन्वय गर्न मलाई धेरै पटक कठिन भएको छ,’ एक पेज लामो राजीनामा पत्रमा उनले भनेका थिए, ‘अहिले हाम्रा धेरै नेता निजी एजेन्डामा मात्र केन्द्रित छन्,’ आडवाणी स्वास्थ्य समस्या देखाउँदै गोवामा भएको तीनदिने सम्मेलनमा अनुपस्थित भएका थिए । राष्ट्रिय कार्यकारी र नेताहरूको बैठकमा आडवाणी अनुपस्थित भएको यो नै पहिलो पटक हो ।-एजेन्सी