इटलीका पूर्व प्रधानमन्त्री बुर्लुस्कोनीलाई सात वर्षको जेल सजाय
इटली, ११ असार– इटलीका पूर्व प्रधानमन्त्री सिल्भियो बुर्लुस्कोनीमाथि यौन व्यवसायीसँग सम्पर्क राखेको आरोपमा सात वर्षको जेल सजाय सुनाइएको छ । कम उमेरकी किशोरीसँग यौन सम्बन्ध राखेको अभियोगमा पूर्वप्रधानमन्त्री बुर्लुस्कोनीलाई सो सजाय सुनाइएको हो । सजाय पाएका बुर्लुस्कोनीले अब कुनै पनि सार्वजनिक पदमा बसेर काम गर्नसमेत नपाउने अदालतको फैसलामा उल्लेख छ । बुर्लुस्कोनीले सन् २०१० मा ठूलो रकम दिएर रुबी भनिने १७ वर्षीया किशोरीसँग शारीरिक सम्बन्ध राखेको आरोपलाई अदालतले पुष्टि गरेको हो । तर, रुबीले भने आफूले पाएको रकम बुर्लुस्कोनीले आफूलाई उपहार दिएको बताउँदै आएकी छन् । दुबैले आफूहरुबीच कुनै शारीरिक सम्बन्ध नभएको समेत बताउँदै आएका छन् । अदालतले बुर्लुस्कोनीमाथि राजनीतिक शक्तिको दुरुपयोग गरेकोसमेत आरोप लगाएको छ । अदालतको फैसलाविरुद्ध अपिल गर्ने बाटो भने खुला नै रहेको छ ।- एजेन्सी