प्रेमीको पढाइ खर्च जुटाउन ठगि

काठमाडौं, २६ जेठ । ३० भन्दा धेरै युवालाई ठगी गरेको आरोपमा २३ वर्षीय युवती पक्राउ परेकी छन् । महानगरीय प्रहरी परिसर ललितपुरले पाटन, सुन्धारा बस्ने सुरक्षा बज्राचार्यलाई पक्राउ गरेको हो । बज्राचार्यले प्रेमीलाई पढाइ खर्च जुटाउन आफूले ठगी गर्नुपरेको बताएकी छन् । आफ्नो प्रेमी भारतमा रहेको र उसले खर्च मागिरहने भएकाले आफूले पैसा कमाउन साथीहरुलाई ठगी गरेको उनको भनाइ छ ।
नक्कली कम्पनी खडा गरी आफ्नै साथीहरुलाई फर्म भर्न लगाई बज्राचार्यले ठगी गरेको ललितपुर परिसरका प्रवक्ता डिएसपी इश्वर कार्कीले बताए । ‘उनले जागिर लगाइदिने भन्दै फर्म भर्न लगाएर प्रतिव्यक्ति तीनदेखि १५ हजार रुपैयाँसम्म लिएकी थिइन्,’ डिएसपी कार्कीले भने, ‘तर जागिर लगाउन नसकेपछि पीडितहरु प्रहरीमा आएका हुन् ।’ –नयाँ पत्रिका दैनिकबाट