इजिप्टमा सैन्य विद्रोह
कायरो, २० असार । इजिप्टको सेनाका प्रमुखले देशको संविधान निलम्बित गर्दै राष्ट्रपति मोहम्मद मुर्सीलाई पदबाट हटाएको घोषणा गरेको छ । जनरल अल सीसीले देशको राष्ट्रपतिको शक्ति अब मुख्य न्यायाधीशसँग हुने घोषणा गरेका छन् ।राष्ट्रिय टेलिभिजनमा जारी आफ्नो सन्देशमा जलरल अब्देल फतह अल सीसीले नयाँ राष्ट्रपतिको चुनाव नभएसम्म अन्तरिम सरकारको मुखय काम न्यायाधीशले सम्हाल्ने घोषणा गरेका छन् । राजनीतिक संकट समाधानका लागि राष्ट्रपति मोहम्मद मुर्सी र विपक्षी दललाई दिइएको समयसीमा सकिएपछि राजधानी कायरोलगायत देशका कयौ क्षेत्रमा सेनाको ट्याङ्क तैनाथ गरिएको छ । सडकमा सेनाले गस्ती सुरु गरेको छ ।
सत्तारुढ मुस्लिम ब्रदरहुड पार्टीले सेनाको कदमलाई सैन्य सत्ताको संज्ञा दिएको छ । आफ्नो फेसबुक पेजमा मोहम्मद मुर्सीले सेनाको कदमलाई सैन्य शासनको संज्ञा दिएका छन्। उनका समर्थकहरु र पार्टी सहयोगीले जनताको विरोधसामु झुक्न अस्वीकार गरेका छन् ।
यसैबीच सेनाको ट्याङ्क र बख्तरबन्द गाडीहरु राष्ट्रपति मुर्सी समर्थक भेला भएको क्षेत्रमा तैनाथ गरिएको छ । यता दशौं हजार मुर्सी विरोधी भने तहरिर चोकमा खुसियाली मनाइरहेका छन्। यता विभिन्न स्थानमा प्रदर्शन भने रोकिएको छैन । मुर्सी समर्थक र विरोधीबीच भएको झडपमा दर्जनौ मारिएका छन् । कायरो विश्वविद्यालमा भएको प्रदर्शनमा १९ जना मुर्सी समर्थक मारिएको बताइएको छ ।
यसअघि सेनाले जनताको माग स्वीकार गर्न राष्ट्रपति मुर्सीलाई सेनाले चेतावनी दिएको थियो । मुर्सीले सेनाको चेतावनी अस्वीकार गरेका थिए । आफूले दिएको चेतावनीको समयसीमा सकिएलगत्तै सेनाले मुर्सीलाई सत्ताच्युत गरेको हो ।
इजिप्टको राष्ट्रिय टेलिभिजनले दिएको जानकारीअनुसार सेनाको राजनीतिक रोडम्यापको घोषणा अल अजहरका शेखले गर्ने भएका छन् । उनको यो घोषणामा काप्टिक चर्चका प्रमुख र विपक्षी नेता मोहम्मद अल बारादेर्य पनि हुनेछन् । अल अजहर इजिप्टका सबैभन्दा बढी प्रतिष्ठित इस्लामी संस्था मानिन्छ ।यता मंगलबार सेनाले ‘हामी हल्लाहको कसम खान्छौ कि हामी कुनै पनि आतंकवादी, चरमपन्थी या मुर्खबाट मिश्र र मिश्रवासीलाई बचाउनका लागि हामी आफ्नो रगत पनि बगाउन तयार छौं’ भन्ने संकल्न लिएको छ ।-एजेन्सी