श्रीमतीको हाँसोबाट दिक्क भएपछि ..

२०७४ श्रावण १४ गते, शनिबार

काठमाडौं, १४ साउन । अमेरिकाको अलास्का निवासी क्रुज शिपमा श्रीमतीको हाँसोबाट दिक्क भएर उनको हत्या गरेको आरोप लागेको छ। केनेथ मंजानारेस नामका व्यक्तिमाथि आफ्नी ३९ वर्षीय श्रीमतीको हत्या गरेको आरोप लागेको हो । श्रीमतीको लास पानी जहाजको क्याबिनमा फेला परेको थियो । उनको टाउकोमा गहिरो घाउ रहेको प्रहरीले जनाएको छ।
अदालतमा प्रस्तुत गरिएको कागजपत्रअनुसार केनेथलाई त्यतिबेला हिरासतमा लिइयो जब सेक्युरिटी गार्डले उनको हात र कपडामा रगतको दाग देखे । केनेथलाई अदालतको तर्फबाट उपलव्ध गराइएको सरकारी वकिलले यस विषयमा कुनै जानकारी दिएनन् । अमेरिकी संचार माध्यमले पीडितको पहिचान युटाकी क्रिस्टी मंजानारेसका रुपमा गरेको छ। एक जना प्रत्यक्षदर्शीका अनुसार उनी जब क्याबिनमा गए तब आरोपी आफ्नी श्रीमतीको शरीर घिसार्दै बालकोनीतर्फ लाँदै गरेका थिए । उनी लास समुद्रमा फ्याँक्न चाहन्थे ।
यस्तो देखेर प्रत्यक्षदर्शीले महिलालाई समातेर पछाडि तानेका थिए । लगत्तै केनेथलाई हिरासतमा लिइएको थियो । घटनको कारण सोध्दा केनेथले भने–उनी ममाथि हाँस्न छोडिनन् । पछि सोधपुछका क्रममा एफबीआई एजेन्टसामु केनेथले भने–मेरो जिन्दगी अब अन्त्य भइसकेको छ। घटना मंगलबार राति एमेराल्ड प्रिन्सेज क्रुज जहाजमा भएको हो । यो जहाज करिब ३४ सय यात्री लिएर सिटलबाट एक साताका लामो यात्रामा आइतबार निस्केको थियो ।
क्रिस्टीका बोसले मृतक निकै समर्पित र प्रेम गर्ने आमा रहेको र आफ्नो बच्चालाई प्राथमिकता दिनका लागि काम छाडेको बताए । घटनाको छानविनको जिम्मा एफबीआईलाई दिइएको छ । समुद्रमा भएको घटनाको छानविन एफबीआईले गर्ने गर्दछ । एजेन्सीका प्रवक्ताले पीडितका परिवारका केही व्यक्ति पनि जहाजमा यात्रा गरिरहेको तर उनीहरुका बारेमा जानकारी सार्वजनिक नभएको बताए । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]