यस्तो रहेछ मण्डेलाको घर

दक्षिण अफ्रिकाको जोहानसबर्ग सोएटो टाउनसिपको पश्चिमी ओरलान्डोको विलाकाजी स्ट्रीटको यो घर नम्बर ८११५ हो । यो कुनै आम घर भने होइन । यो त्यही घर हो जहाँ दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेला सन् १९४६ देखि १९९० सम्म ४४ वर्ष रहे ।अब यसलाई ‘मण्डेला हाउस’ नामबाट म्युजियमको रुप दिइएको छ ।नेल्सन मण्डेला यतिबेला गम्भीर विरामी छन् । उनी फोक्सोमा भएको संक्रमणका कारण ८ जुनदेखि प्रिटोरियास्थित अस्पतालमा जीवन र मृत्युसँग संघर्ष गरिरहेका छन् ।यही बेला ‘मण्डेला हाउस’ आम मानिसका लागि खुला गरिएको छ। मण्डेलाका देशीविदेशी प्रशंसक अहिले मण्डेला हाउसमा ठुलो संख्यामा आउने गरेका छन् । नेल्सन मण्डेलाको स्वास्थ्य लगातार खराब भइरहेको छ । त्यसैले अहिले मण्डेला हाउसबाहिर उनका प्रशंसकहरु मण्डेलाको स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।
मण्डेलाको जीवन निकै रोमाञ्चकारी र संघर्षमय थियो । नेल्सन मण्डेलालाई रंगभेदविरुद्ध संघर्ष गरेको आरोपमा सन् ५ अगस्त १९६२ मा तत्कालीन सरकारले पक्राउ गरेको थियो । लामो समयसम्मको संघर्षपछि दक्षिण अफ्रिकामा रंगभेद समाप्त गर्न उनी सफल भए । संघर्षमा क्रममा मण्डेला २७ वर्षसम्म जेल जीवन बिताए ।
अन्ततः २७ वर्षपछि उनी ११ फेब्रुअरी १९९० मा रिहा भए।नेल्सन मण्डेला १० मे १९९४ मा राष्ट्रपति चुनिएका थिए । पाँच वर्षे कार्यकाल पूरा गरेपछि मण्डेलाले सक्रिय राजनीतिबाट सन्यास लिएका थिए ।तिनै युग पुरुष मण्डेलाले ४४ वर्ष व्यतित गरेको निवासमा अहिले पर्यटकको भिड लागेको छ । भिड व्यवस्थापन गर्न सरकारले सुरक्षा बलसमेत तैनाथ गरेको छ ।- एजेन्सी