म्यानमारका सबै राजनीतिक बन्दी रिहा हुने
साउन १ – म्यानमारका राष्ट्रपति थेन सेनले यो वर्षको अन्त्यसम्म सबै राजनीतिक बन्दीलाई रिहा गरिने बताएका छन् ।पहिलो औपचारिक भ्रमणका क्रममा बेलायत पुगेका राष्ट्रपति थेन सेनले त्यहाँका प्रधानमन्त्री डेभिड क्यामरुन संगको भेटपछि यो वर्षको अन्त्यसम्म म्यानमारमा आस्थाका बन्दी नरहने बताएका हुन् ।उनले विशेष समितिले हरेक राजनीतिक बन्दीको मुद्धाको समीक्षा गरिरहेको पनि बताए । राष्ट्रपति थेन सेनले एक हप्ताभित्र देशका जातीय समूहसंग युद्धबिराम हुनसक्ने सम्भावना पनि व्यक्त गरे ।आउँदो हप्ता देशव्यापी युद्धविराम हुन सक्ने र देशमा ६० वर्षमा पहिलोपल्ट बन्दुकहरु शान्त हुने भन्दै उनले त्यसका लागि कठिन बार्ता गर्नुपर्ने र कडा सम्झौता गर्नुपर्ने आवश्यकता रहेको बताए ।
बेलायती प्रधानमन्त्री क्यामरुनले म्यानमारमा राजनीतिक सुधारको प्रक्रिया सकारात्मक भन्दै मानवअधिकार रक्षा र क्षेत्रीय द्वन्द्व अन्त्यका लागि उत्कृष्ट कदम चाल्नुपर्नेमा जोड दिए । म्यानमारका राष्ट्रपति थेन सेन व्यापार तथा सैन्य सम्बन्धबारे छलफल गर्न बेलायत गएका हुन् ।