सैनिक कारबाहीमा बत्तीस तालिवानको मृत्यु
काबुल,४ साउन । अफगानिस्तानमा तालिवानविरुद्ध अफगान सैनिक, प्रहरी र नेटोसँग आवद्ध सैनिकले जारी राखेको कारबाहीका क्रममा ३२ तालिवान लडाकूको मृत्यु भएको छ ।संयुक्त सेनाले हिजोदेखि सुरु गरेको कारबाहीमा परी शुक्रबार बिहानसम्म कम्तीमा पनि ३२ जना तालिवान सशस्त्र लडाकूको मृत्यु भएको अफगानिस्तानको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।गत २४ घण्टाभित्र अफगानिस्तानको बाघलान, कुन्दुज, बाल्ख, लोगार, हेलमान्ड, र कान्दाहार प्रान्तमा ती सेनाले उक्त कारबाही गरेका पनि सो मन्त्रालयले जनाएको छ ।सो कारबाहीको क्रममा अन्य छ सशस्त्र लडाकू पक्राउ परेको पनि जनाइएको छ । उक्त कारबाहीहरुको क्रममा विभिन्न हाततियार कब्जा गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अफगानिस्तानमा अफगान र नेटोसँग आवद्ध सेनाले तालिवान लडाकूविरुद्ध विभिन्न स्थानमा कारबाही जारी राखेका छन् । कारबाहीका क्रममा दिनहुँ त्यहाँका नागरिक हताहति हुने गरेको पनि समाचारमा जनाइएको छ ।यस वर्षको जनवरीदेखि मध्य जुनसम्म तालिवान आतङ्ककारीहरुले जारी राखेका हत्या हिंसामा दुई हजार ५०० अफगान नागरिकको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले हालै जनाएको छ ।हिजो मात्र पनि अफगानिस्तानको एक ग्रामीण क्षेत्रका आठजना कामदार काममा गइरहेका बेला तालिवान हतियारधारीहरूले गोलीहानी हत्या गरेका थिए । बिहीबार बिहान काममा गइरहेका ती मजदुरलाई बाटोमै कुरेर बसेका तालिबान हतियारधारीहरूले गोलीहानी हत्या गरेका समाचारमा जनाइएको थियो ।
अफगानिस्तानका राजधानी काबुलबाट दक्षिणतर्फ रहेको नेटो सैनिकको एक शिविरमा कार्यरत ती मजदुरलाई हिजो बिहान सो काममा जान लागिरहेका बेला तालिबानहरूले हत्या गरेका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका थिए ।अफगानिस्तानबाट नेटो सैनिक फिर्ता हुने समय नजिकिंँदै गर्दा तालिवान विरुद्धको कारबाहीलाई थप तीव्र पारिएको पनि समाचारमा जनाइएको छ ।
सन् २०१४ को अन्त्यसम्ममा अफगानिस्तानबाट नेटो सैनिक फिर्ता गरिसक्ने घोषणा सो सैन्य समूहमा संलग्न रहेका सबै देशले यसअघि नै गरिसकेका छन् । तर हालैका दिनमा अफगानिस्तानमा जारी रहेको हिंसाको प्रकृति हेर्दा भने त्यहाँ शान्तिको आशा कमै मात्र देखिन्छ । रासस÷सिन्ह्वा