आर्सनल र लेस्टर सिटी युरोपा लिगको नकआउट चरणमा

काठमाडौं । गएराति भएको खेलमा मोल्डे एफकेलाई तीन शुन्यले पराजित गर्दै आर्सनल युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । आर्सनललाई जित दिलाउन निकोलस पेपे, रेइस नेल्सन र फोलारिन बालोगनले एक–एक गोल गरे । समूह बीमा आर्सनलले अपराजित यात्रा कायम राखेको छ । समूह जी मा स्पोर्टिङ्ग ब्रागासँग तीन–तीन गोलको बराबरी गर्दै लेस्टर सिटी पनि नकआउट चरणमा पुगेको छ । लेस्टर सिटीका लागि बार्नेस, थोमस र जेमी भार्डीले गोल गरेका हुन् भने ब्रागाका लागि अल मुस्राती, डिजाय फेर्नान्डेस र रोड्रिग्वेज बार्बोसाले एक एक गोल गरे । बराबरीपछि चार खेलबाट दश अंकसहित शीर्ष स्थानमा रहेको लेस्टरले नआउट चरणमा स्थान बनाएको हो ।
समूह जे अन्तर्गत भएको खेलमा लुडोगोरेट्स राज्ग्राडलाई चार–शुन्यले पराजित गरेको टोटनह्यामले पनि नकआउट चरणमा स्थान बनाउने अवस्थामा पुगेको छ । टोटनह्यामका लागि अल्भेस मोराइजले दुई तथा विन्क्स र लुकास मौराले एक–एक गोल गरे । जितपछि उसको नौ अंक भएको छ । – एजेन्सी