साहित्यकार सुमी लोहनीको ‘अष्टावक्र महागीतामृत’ लोकार्पण
काठमाडौँ । ओशो तपोवनद्वारा आयोजित विशेष एवम् भव्य समारोहमा ‘अष्टावक्र महागीतामृत’ (अध्यात्म तथा अद्वैत वेदान्त दर्शन) कृतिको लोकार्पण गरिएको छ । साझा प्रकाशनबाट प्रकाशित साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जन गरिएको उक्त कृति असार १७ गते बुधवार काठमाडौँको नागार्जुन अवस्थित ओशो तपोवनमा लोकार्पण गरिएको हो ।
उक्त कार्यक्रमका मुख्य वक्ता स्वामी आनन्द अरुणले ओशोले सन् १९७४ मा आफ्ना निकटस्थ अठार साधकका बिच अष्टावक्र गीताको चर्चा गरेकाे, त्यसलाई विलक्षण र दुर्लभ ग्रन्थको रूपमा स्वीकार्नुका साथै सो ग्रन्थ जनकपुरको माटोमा जन्मिएको कारण त्यसको प्रवर्द्धनमा हामी बढी संवेदनशील हुनुपर्ने बताएका थिए। उनले ओशोले राजा जनकलाई प्रभावित र वैराग्य प्रदान गर्न सक्ने अष्टावक्र गीतामा जम्मा २९८ श्लोक मात्र भए पनि ती श्लोकमा असाधारण अर्थ र प्रभाव रहेको तथा पहिलो २० श्लोकले नै राजा जनकलाई आफ्नो प्रभावमा लिन सक्षम भएको बताएको, अष्टावक्रबारे असङ्ख्य प्रवचन गरेकाे, सो प्रवचनका ६ ग्रन्थ तयार भएका स्मरण गरेका थिए।
उनले आफूले जनकपुरमा अष्टावक्र मन्दिर बनाउन पहल गरेको र अष्टावक्र गीतालाई राष्ट्रिय कृति धोषणा गराउन निरन्तर लागिरहेको पनि बताएका थिए।
कार्यक्रमको आरम्भमा अनुसर्जक सुमी लोहनीले कृति रचनागर्भबारे प्रकाश पार्दै आफूले कोरोनाको विशिष्ट कालमा अष्टावक्र महागीता पढी सोबाट प्रभावित भएर आम पाठकलाई लाभ हुने गरी अनुसिर्जन गरिएको बताएकी थिइन्।
स्वामी अर्हत्ले सञ्चालन गरेकाे कार्यक्रममा साझा प्रकाशनका अध्यक्ष शेखर गिरीले अष्टावक्र गीताबारे आफ्नो विचार व्यक्त गरेका थिए। लोकार्पित कृतिको विशद समीक्षा गर्दै डा. रमा भट्टराईले आम पाठकका लागि कृति उपयोगी हुने, महिला लेखक भएकीले उपेक्षित गर्न नहुने र आत्मबोधका सन्दर्भमा कृति सदैव उपयोगी रहेको बताए।
वासुदेव अधिकारीकाे अनुसार उक्त कार्यक्रममा सुमी लोहनीका शिष्य डा. अनन्त अर्यालले अष्टावक्र महागीता ध्यान तथा सेवाभावसहित पठन हुन सके बुझ्न सकिने धारणा राख्दै सो गीताबारे स्वामी रवि शङ्करले समेत सकारात्मक चर्चा गरेको प्रसङ्ग स्मरण गरेका थिए।
साझा प्रकाशनबाट प्रकाशित ११२ पृष्ठको अष्टावक्र महागीतामृतको मूल्य २४०।– रूपैयाँ रहेको छ।
