अघिकांश वाणिज्य बैंकको ब्याजदर स्थिर

काठमाडौं । अघिकांश वाणिज्य बैंकहरूले माघ महिनाका लागि ब्याजदर स्थिर राखेका छन् । हाल सञ्चालनमा रहेका २० मध्ये १५ वटा वाणिज्य बैंकले माघका लागि ब्याजदर स्थिर राखेका हुन् । यसैगरी, ३ वटा बैंकले ब्याजदर घटाएका छन् भने २ वटा बैंकले ब्याजदर बढाएका छन् । नेपाल एसबीआई बैंकले ब्याजदर ०.५० प्रतिशत घटाएको छ । एसबीआईले व्यक्तिगत निक्षेप र संस्थागत निक्षेप दुवैतर्फ ०.५० प्रतिशत ब्याजदर घटाएको हो ।
पौष महिनाका लागि एसबीआई बैंकले व्यक्तिगत निक्षेपका लागि ६ र संस्थागत निक्षेपका लागि ५ प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले माघ महिनामा व्यक्तिगततर्फ ५.५० र संस्थागत तर्फ ४.५० प्रतिशत ब्याजदर तोकेको छ ।
यसैगरी, नेपाल बैंकले माघ महिनाका लागि संस्थागत निक्षेपतर्फ ब्याजदर घटाएको छ भने व्यक्तिगत निक्षेपतर्फ स्थिर राखेको छ । बैंकले पौष महिनामा संस्थागत निक्षेपकर्तालाई ४.७० प्रतिशत ब्याज दिएको थियो । माघ महिनामा संस्थागतलाई ४.१५ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । अर्थात संस्थागत निक्षेपतर्फ बैंकले ०.५५ प्रतिशत ब्याजदर घटाएको हो ।
बैंकले व्यक्तिगततर्फ पौष महिनाको ५.६० प्रतिशत ब्याजदरलाई नै निरन्तरता दिएको छ । यसैगरी, कृषि विकास बैंकले व्यक्तिगत ब्याजदर घटाएको छ भने संस्थागत ब्याजदर स्थिर राखेको छ । पौष महिनामा बैंकले व्यक्तिगततर्फ ५.५७ प्रतिशत ब्याज दिएको थियो । माघ महिनामा व्यक्तिगततर्फका निक्षेपकर्तालाई ५.५१ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । अर्थात माघ महिनामा व्यक्तिगततर्फ बैंकले ०.०६ प्रतिशत ब्याज घटाएको हो । संस्थागततर्फ पौष महिनामा बैंकले लागू गरेको ३.२५ प्रतिशतलाई नै निरन्तरता दिएको छ ।
यता, लक्ष्मी सनराइज बैंक र सिटिजन्स बैंकले ब्याजदर बढाएका छन् । लक्ष्मी सनराइजले व्यक्तिगत निक्षेपका लागि ब्याजदर बढाएको छ भने सिटिजन्सले संस्थागत निक्षेपका लागि ब्याजदर बढाएको छ । पौष महिनामा लक्षी सनराईजले व्यक्तिगततर्फ ५.५० प्रतिशत ब्याजदर तोकेको थियो । माघ महिनामा उक्त ब्याजदर बढाएर ५.७५ प्रतिशत पुर्याएको छ । अर्थात माघ महिनामा बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत ब्याजदर बढाएको हो । संस्थागततर्फ भने बैंकले पौष महिनाकै ब्याजदर ४.५० प्रतिशतलाई नै निरन्तरता दिएको छ ।
सिटिजन्स बैंकले पौष महिनामा संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको थियो । माघ महिनाका लागि बैंकले संस्थागततर्फ ४.५० प्रतिशत पुर्याएको छ । अर्थात ०.५० प्रतिशत ब्याजदर बढाएको छ । यसैगरी, व्यक्तिगततर्फ बैंकले पौष महिनामा कायम ५.५६ प्रतिशतलाई नै निरन्तरता दिएको हो ।
यसैगरी, ग्लोबल आईएमई र नबिल बैंकले पौष महिनामा कायम व्यक्तिगततर्फ ५.५७ र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदरलाई नै माघ महिनामा पनि निरन्तरता दिएका छन् । यसैगरी, कुमारी बैंकले व्यक्तिगत तर्फ ५.९१ र संस्थागततर्फ ४.९१ प्रतिशत ब्याजदरलाई नै माघ महिनामा पनि निरन्तरता दिएको छ ।
माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ६ र संस्थागततर्फ ४ प्रतिशत ब्याजदरलाई नै निरन्तरता दिइँदा सिद्धार्थ र एभरेष्ट बैंकले व्यक्तिगततर्फ ६ र संस्थागततर्फ ५ प्रतिशत ब्याजदरलाई नै माघ महिनाका लागि पनि निरन्तरता दिएका छन् ।
यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ६ र संस्थागततर्फ ३.५० प्रतिशत, सानिमा बैंकले व्यक्तिगततर्फ ६.०५ र संस्थागततर्फ ४.३० प्रतिशत, प्रभु बैंकले व्यक्तिगततर्फ ६.१० र संस्थागततर्फ ५.१०, प्राइम कमर्सियल बैंकले व्यक्तिगततर्फ ६.२५ र संस्थागततर्फ ४ प्रतिशत, स्टान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ६.२५ र संस्थागततर्फ ३.२५ र हिमालयन बैंकले व्यक्तिगततर्फ ६.२५ र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदरलाई नै माघ महिनाका लागि पनि निरन्तरता दिएको छ ।
यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगततर्फ ६.५० र संस्थागततर्फ ५.१० प्रतिशत ब्याजदरलाई माघ महिनामा निरन्तरता दिँदा एनएमबी र एनआईसी एशिया बैंकले व्यक्तिगततर्फ ६.६० र संस्थागततर्फ ५.६० प्रतिशत ब्याजदरलाई नै माघ महिनामा पनि निरन्तरता दिएको जनाएको छ ।
यसैबीच, आर्थिक शिथिलताले व्यवसाय बढाउन नसकिरहेका बेला अधिकांश वाणिज्य बैंकले मुनाफा बढाएका छन्। चालु आर्थिक वर्ष पाँच महिनामा वाणिज्य बैंकहरुले पोहोरको सोही अवधिको तुलनामा मुनाफा ८.३२ प्रतिशत बढाएका हुन्। १९ वटा बैंकले पाँच महिनामा ३० अर्ब ५९ करोड रुपैयाँ मुनाफा कमाएका छन्। १३ बैंकले नाफा बढाउँदा ६ वटाको भने खुम्चिएको छ। कृषि विकास बैंकको विवरण भने सार्वजनिक गरिएको छैन। नेपाल एसबिआई बैंकको नाफा सबैभन्दा धेरै ९०.४८ प्रतिशतले वृद्धि भएको छ। धेरै नाफा गर्नेमा नबिल बैंक छ। नबिलले ३ अर्ब ४९ करोड रुपैयाँ नाफा गरेको छ। आर्थिक गतिविधि सुस्त भएपनि असुलीमा केही सुधार हुँदा नाफा बढेको बैंकरहरूले बताएका छन्। हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, राष्ट्रिय वाणिज्य, सिटिजन्स, एनआईसी एसिया र सानिमा बैंकको नाफा भने खुम्चिएको छ।