देश र जनतालाई संसदीय चंगुलबाट मुक्त पारौ
देशको राजनीति दिन प्रतिदिन तरल बन्दै गएको छ भने जनताको जीवनस्तर डरलाग्दो गरि खस्कदै गएको छ । तर, सरकार कुनै ठोस योजनाका साथ अगाडि बढ्न सकेको छैन । देश र जनताको प्रगतिपथको बिषयमा छलफल हुने संसदलाई दलीय स्वार्थमा बन्धक बनाउने कार्य भै रहेको छ । जुनसुकै संसद्वादी दल र नेताले सरकारको नेतृत्व गरेपनि देश र जनताले राहतको अनुभूति गर्न पाएका छैनन् । हरेक सरकारका कार्य कर्मकाण्डी मात्र हुने गरेका छन् । जुन कार्य संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएदेखि हुँदै आएको छ । संसदवादी दल र नेताहरु सत्ता पक्षमा रहदा देश र जनताका हितका भनिरहेका विषयलाई बिपक्षमा पुगेपछि घोर विरोध गरिरहेका छन् । संसदवादी दलहरुको यही हर्कतले संसदीय व्यवस्था नै भड्खालोमा परेको छ । राज्यको हरेक अङ्गमा संसदवादी दल र नेताहरुले हस्तक्षेप गरेका छन्, जसका कारण उनीहरुले स्वतन्त्ररुपले कार्य गर्न पाएका छैनन् । संसदवादी दल, नेता र सरकारको यस्तै हर्कतले उनीहरुप्रति जनविश्वास टुटेको छ । उनीहरुको यस्तो हर्कतले जनता आजित भएका छन् । देश र जनताभन्दा आफ्नो पार्टी, आफु र आफ्ना कार्यकर्तामा मात्र केन्द्रित संसदीय राजनीति हेर्दा यस व्यवस्थाबाट देश र जनताको भलो हुनै सक्दैन भन्ने प्रमाणित भएको छ ।
संसदवादी दल र नेताहरुको सत्ता केन्द्रित राजनीतिविरुद्ध अब आमक्रान्तिकारी, देशभक्त र प्रगतिशील लोकतन्त्रवादी दल, नेता र सम्पूर्ण तह र तप्काका बुद्धिजीविहरु एकजुट हुनुपर्ने समय आएको छ । जबसम्म देशमा संसदीय व्यवस्था रहन्छ, तबसम्म देश र जनताले मुक्ति पाउने सम्भावना छैन । त्यसैले अब नेपाल कम्युनिस्ट पार्टीले भनेको जस्तो कस्तो शासन व्यवस्था र शासन प्रणाली देशले अङ्गीकार गर्ने भन्ने विषयको छिनोफानो गर्ने अधिकार जनतालाई दिनुपर्छ । त्यसको लागि तत्काल प्रगतिशील संयुक्त सरकार गठन गरी अगाडि बढ्नुको विकल्प छैन ।
संसदवादी दलहरुको अंक गणितीय खेलमा लागेर सरकार परिवर्तन हुँदैमा अथवा यही सरकार रहिरहे पनि वर्तमान राजनीतिक समस्याको हल हुन सक्दैन । किनकि संसदीय व्यवस्था देशी, विदेशी दलाल, कमिशनखोरी, भ्रष्टाचारी र कालोबजारीयाको बलमा टिकेको छ । यस व्यवस्थामाथि जनताको कुनै मोह छैन । जनताले नरुचाएको व्यवस्थालाई मलजल गरेर आफ्नो स्वार्थपूर्तिमा लागेका संसदवादी दल र नेताहरुमाथि जनताको कुनै आशा र भरोसा छैन । तसर्थ, यस्तो अवस्थामा तत्काल प्रगतिशील संयुक्त सरकार गठन गरी देशको वर्तमान राजनीतिक संकटको निकास खोज्नु उपयुक्त हुन्छ । यसैमा देश र जनताको मुक्तिका साथै तमाम संसद्वादी दल र नेताहरुको समेत भलाई हुने निश्चित छ । अन्यथा, जनता जाग्ने छन्, जनता जागे के हुन्छ, जनताको नाम भजाएर लुटतन्त्र मच्चाउन पल्किएका संसदवादी दल र नेतालाई सम्झाइरहनु नपर्ला, चेतना भया ।