क्षेप्यास्त्र साप्ताहिक बीसौँ वर्षमा प्रवेश
दश वर्षे जनयुद्ध र उन्नाइस दिने ऐतिहासिक जनआन्दोलनको महान् रक्तिम बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल र नेपालीको स्वाधीनता तथा स्वाभिमानको रक्षा गर्ने र जनअपेक्षालाई शिरोधार्य गर्दै जनतालाई सुसूचित गर्ने महान् उद्देश्यका साथ सुरु भएको ‘क्षेप्यास्त्र साप्ताहिक’ ले आफ्नो गौरवमय यात्राका १९ वर्षहरू सफलतापूर्वक पार गर्दै बीसौँ वर्षमा पाइला टेकेको छ । वैज्ञानिक समाजवादको लक्ष्यलाई थोरै भएपनि सहयोग पु¥याउने यो साप्ताहिक कुनै निहित स्वार्थको छाता नभई श्रमजीवी जनताको पक्षमा उभिने एक वैचारिक पत्रिका हो ।
यतिबेला देशको राजनीति गम्भीर मोडमा पुगेको छ । संसद्वादी व्यवस्था, दलीय नेतृत्व र तिनका गैरजिम्मेवार हर्कतका कारण कागजी रूपमा स्थापित संघीय गणतन्त्रले देश र जनतालाई मुक्ति दिनुको साटो झन्–झन् गहिरो संकटतर्फ धकेलिरहेको छ । सिद्धान्ततः सिंहदरबारमा सीमित रहेको राज्यसत्ताको विकेन्द्रीकरण गरिएको छ र स्थानीय तहदेखि केन्द्रसम्म नै जनताका प्रतिनिधिहरूको शासन व्यवस्था छ । तर, जुन आकांक्षा र अपेक्षा राखेर नेपाली जनताले राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाका निम्ति आफ्ना अमूल्य जीवन उत्सर्ग गरेका थिए, व्यवहारमा त्यसको ठीक विपरीत परिणाम देखिएको छ ।
जेन–जी आन्दोलन पछि शासन व्यवस्थामा आमूल परिवर्तन हुनुको सट्टा दलीय र अझ त्यसमा पनि गुटविशेषको स्वार्थी हालिमुहाली चलाउने प्रवृत्ति झनै मौलाएको छ । राज्य संयन्त्रमा इमानदारी, निष्ठा र सिद्धान्त बोकेका पात्रहरू पाखा लागेका छन् भने बिचौलिया र दलाल वर्गको अनाधिकृत पहुँच अत्यधिक बढेको छ । यसले गर्दा आम जनता निरन्तर प्रताडित र उपेक्षित हुनुपरेको छ ।
देशमा राजनीतिक विकृतिले आफ्नो सीमा नाघेको छ । संसद्वादी राजनीतिक दलहरू देश, राष्ट्र र जनताको वृहत्तर हितभन्दा पनि कुर्सी र सत्ता केन्द्रित फोहरी राजनीतिमा आफ्नो सम्पूर्ण तागत केन्द्रित गरिरहेका छन् । राज्यका साधन र स्रोतहरूलाई चरम ढङ्गले दोहन गर्नका लागि सत्ता र आसेपासेहरूलाई खुला छुट दिइएको छ ।

राज्यका विधि, कानून र संविधानलाई समेत ठाडै उल्लङ्घन गर्ने प्रवृत्तिले गर्दा आज देश इतिहासमै सबैभन्दा गम्भीर राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक संकटमा फसेको छ । भ्रष्टाचार, महँगी, कालोबजारी, बेरोजगारी, अनियमितता, ‘सेटिङ’तन्त्र, घुसखोरी, नातावाद र कृपावादले सिङ्गो देशलाई जकडिरहेको छ । भ्रष्टाचारको दलदलमा फसेको राज्य व्यवस्थाका कारण आज आम जनता वित्तीय संस्था, लघुवित्त र मिटरब्याजीहरूको आततायी शोषणबाट त्राहिमाम छन् । अकासिएको महँगीले गर्दा गरिखाने श्रमजीवी वर्गको चुलोचौको समेत बन्द हुने दर्दनाक स्थिति सिर्जना भएको छ । पसिना बगाउने किसानले समयमा न मल पाएका छन्, न त बिउ नै, अनि पीडित वर्गले न्यायको अनुभूति गर्न पाएका छैनन् । देशमा शान्ति सुरक्षा भन्ने कुरा केवल एकादेशको दन्त्यकथा जस्तै बन्न पुगेको छ ।
जता हे¥यो उतै अस्तव्यस्तता र भद्रगोलको स्थिति छ, जसले गर्दा सरकारका तीनवटै प्रमुख अङ्गहरू पूर्ण रूपमा निकम्मा र भ्रष्टाचारका अखडामा परिणत भएको प्रस्ट देखिन्छ । राष्ट्र हित विपरीतका एमसीसीजस्ता सम्झौताहरू लागू गरिएका छन् भने एसपीपीजस्ता सामरिक महत्वका सम्झौताहरू भित्र्याउन विभिन्न षड्यन्त्रहरू भइरहेका छन् । यसले नेपालको सार्वभौमिकतामाथि गम्भीर आँच पु¥याएको छ र वैदेशिक हस्तक्षेपले सीमा नाघेको छ । यी समग्र घटनाक्रमले यो प्रमाणित गरेको छ कि संसदीय व्यवस्था र यसका हिमायती दलहरूले कहिल्यै पनि नेपालको सार्वभौमिकता, राजनीतिक स्वतन्त्रता र आम जनभावनाको रक्षा गर्न सक्दैनन् ।

अर्कोतर्फ, देशका मूलधारका ठूला भनिएका सञ्चार माध्यमहरूले समेत आफ्नो वैचारिक निष्ठा र पेसागत धर्म बिर्सिएर व्यक्तिगत तथा संस्थागत स्वार्थपूर्तिको खातिर देश र जनहित विपरीतका गतिविधिहरूलाई प्रश्रय दिइरहेका छन् । उनीहरूलाई राष्ट्रको स्वाधीनता, राष्ट्रियता र नागरिक सर्वोच्चताभन्दा विज्ञापन र व्यापारिक लाभमा मात्र रुचि छ । देशमा दिनदिनै बढिरहेको ठाडो वैदेशिक हस्तक्षेपप्रति उनीहरूले कहिल्यै गम्भीर प्रतिक्रिया जनाएका छैनन् । यस्तो संवेदनशील घडीमा राष्ट्र, राष्ट्रियता, जनतन्त्र र नागरिक सर्वोच्चताको पक्षमा चट्टानझैँ उभिने वैकल्पिक तथा क्रान्तिकारी मिडियाको टड्कारो आवश्यकता फेरि एकपटक बोध भएको छ । वैदेशिक हस्तक्षेप र भ्रष्टाचारका विरुद्ध निडर भएर आवाज बुलन्द गर्ने सशक्त पत्रपत्रिकाको आवश्यकता झन् बढी खड्किएको छ । यही ऐतिहासिक आवश्यकतालाई आत्मसात् गर्दै प्रकाशन गरिएको ‘क्षेप्यास्त्र साप्ताहिक’ आगामी दिनहरूमा पनि आफ्ना आदर्श, मूल्य मान्यता र क्रान्तिकारी जिम्मेवारीबाट रत्तिभर पछि हट्ने छैन भन्ने दृढ विश्वास दिलाउन चाहन्छौँ । राष्ट्रभक्त, सचेत र जिम्मेवार नागरिकहरूको तर्फबाट प्राप्त हुने रचनात्मक सरसल्लाह, सुझाव र मार्गदर्शन नै हाम्रो आगामी यात्राका बलिया सारथि हुनेछन् । यो छोटो तथा संघर्षपूर्ण अवधिमा क्षेप्यास्त्र साप्ताहिकले जे–जति प्रगति हासिल गरेको छ, पाठकहरूको अपार स्नेह कमाएको छ, साथै प्राप्त भएका सकारात्मक ‘ताली’ र आलोचनात्मक ‘गाली’ दुवैलाई हामीले समान रूपमा ग्रहण गरेका छौँ । यो सफलता कुनै एक व्यक्तिको एकल प्रयासबाट मात्र सम्भव भएको होइन; यस अवधिमा आम नेपाली दाजुभाइ, दिदीबहिनीहरूले हामीप्रति देखाउनुभएको सद्भाव र विश्वास अत्यन्तै सराहनीय छ । यसले हाम्रो हौसला मात्र बढाएको छैन हाम्रो ऐतिहासिक दायित्वलाई अझ गम्भीर बनाएको छ ।
हाम्रो यस वैचारिक अभियानमा निरन्तर साथ दिई हामीलाई मार्गनिर्देशन प्रदान गर्ने सम्पूर्ण आदरणीय पाठकवर्ग, विज्ञापनदाताहरू, बिक्रेताहरू र सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ । आगामी दिनहरूमा पनि यहाँहरूको सकारात्मक सल्लाह, सुझाव र स्वस्थ आलोचनालाई शिरोधार्य गर्दै देश, जनता र श्रमजीवी वर्गको पक्षमा सधैँ अडिग भएर निरन्तर कलम चलाइरहने दृढ प्रण गर्दछौँ ।
