प्रधानमन्त्री बालेनको भारत भ्रमण फुस्सा सावित
प्रधानमन्त्री बालेनको हालै (मंसिर ६ र ७ गते)सम्पन्न दुईदिने भारत भ्रमण उपलब्धिहीन भएको छ । नयाँ नेतृत्व, फरक राजनीतिक पृष्ठभूमि र उच्च जनअपेक्षाका साथ प्रधानमन्त्री बालेनले सम्पन्न गरेको दुईदिने द्विपक्षीय भारत भ्रमणले ठोस कूटनीतिक उपलब्धितर्फ नभई गम्भीर निराशा र प्रश्नहरूतर्फ ध्यान तानेको छ । परिवर्तनको आकांक्षा बोकेको कार्यकारी नेतृत्वको पहिलो औपचारिक भ्रमणबाट मुलुकले ऐतिहासिक तथा जटिल सरोकारमा निर्णायक संवाद र स्पष्ट अडानको अपेक्षा गरेको थियो । तर, व्यवहारमा भ्रमण औपचारिकता, ऋण–अनुदान र प्रचारमुखी घोषणाहरूमा सीमित भएको छ ।
प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई लिएर सरकारी तवरबाट आर्थिक प्याकेज, हवाई रुट र पारवहन सहमतिका कुरालाई ठूला उपलब्धिका रूपमा प्रचार गरिएको छ । तर अर्कोतिर नेपालको सार्वभौमिकता, सीमा अतिक्रमण र दशकौँदेखि जेलिएका आधारभूत सरोकारमा ठोस संवादसमेत हुन नसकेको भन्दै गम्भीर प्रश्न उठेका छन् । सार्वभौम राष्ट्र नेपालसँग बल्झिएका समस्याहरूमा उच्चस्तरीय राजनीतिक तहमा संवाद हुनुपर्ने न्यूनतम आवश्यकता पूरा नहुँदा भ्रमणको औचित्यमै शंका पैदा भएको छ ।
नरेन्द्र मोदी र बालेन शाहबीचको संवादमा दुई देशबीचका संवेदनशील र दीर्घकालीन विषयहरू एजेन्डा नै बन्न सकेनन् । इपीजी प्रतिवेदन, सन् १९५० को सन्धि, कालापानी–लिपुलेक–लिम्पियाधुरा र सुस्तालगायतका सीमा विवाद, सार्कको भविष्य, असमान व्यापार तथा पारवहन सम्झौता, भारतीय बजारमा नेपाली सामानको पहुँचमा अवरोध, भारतमा काम गर्ने र घर फर्कने नेपालीमाथि हुने दुव्र्यवहार तथा अत्याचार, पञ्चेश्वर परियोजना र नेपाली भूमिमा भारतीय सुरक्षाकर्मीको अनधिकृत घुसपैठजस्ता विषयमा छलफल नै नहुनु विडम्बनापूर्ण छ ।
सबैभन्दा चिन्ताजनक विषय त के हो भने नेपाल सरकारले आधिकारिक रूपमा नक्सा जारी गरेर संसद्बाट पारित गरिसकेको तथा ऐतिहासिक सन्धि–सम्झौता, दस्तावेज, तथ्यप्रमाण र जलविज्ञानका आधारमा नेपालको अकाट्य सार्वभौम भू–भाग रहेको लिम्पियाधुरा–लिपुलेक–कालापानी नेपालको हो भन्ने अडानसमेत भ्रमणका क्रममा स्पष्ट रूपमा राख्न सकिएन । अझ भ्रमणकै बेला भारतीय विदेशसचिवले पत्रकार सम्मेलनमार्फत लिपुलेकलाई भारत र चीनबीचको सिमानाका रूपमा चित्रण गर्दा पनि नेपालका प्रधानमन्त्री, परराष्ट्रमन्त्री वा परराष्ट्र मन्त्रालयबाट कुनै औपचारिक प्रतिक्रिया नआउनु कूटनीतिक कमजोरीको पराकाष्ठा हो । सार्वभौम जनताको मतादेश पाएका कार्यकारी नेतृत्वले मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि बाह्य मुलुकबाट दाबी वा हस्तक्षेप हुँदा मौन बस्नु संवैधानिक जिम्मेवारी र जनमतप्रतिको गम्भीर बेवास्ता हो ।
लिपुलेकलाई भारत र चीनको सिमाना भनिरहँदा राज्य नेतृत्व किन बोलेन ? किन परराष्ट्रमन्त्री र प्रधानमन्त्री मौन रहे ? जनस्तरमा किन अपेक्षित आवाज उठ्न सकेन ? र सञ्चारमाध्यमले समेत यस्तो संवेदनशील राष्ट्रिय मुद्दा छाडेर आर्थिक साझेदारी वा अन्य विषयलाई मुख्य प्राथमिकता किन बनाए ? यी प्रश्नहरूले हाम्रो कूटनीतिक तयारी, सार्वजनिक विमर्श र राष्ट्रिय सरोकारप्रतिको संवेदनशीलतामाथि गम्भीर आत्मसमीक्षाको माग गर्छन् ।
प्राविधिक र पूर्वाधारका विषयमा पनि वास्तविक सरोकार ओझेलमा पारिएको छ । महाकालीबाट हवाई प्रवेशद्वार प्राप्त गर्ने नेपालको पुरानो माग अझै पूरा भएको छैन, र भैरहवाको हवाई रुटसम्बन्धी विषय पनि व्यवहारमा लागू नभएसम्म पत्याइहाल्ने आधार छैन । एकातिर दार्चुलाको सीमा अतिक्रमित अवस्थामै छ भने अर्कोतिर महाकालीमाथिको पुल, हजार किलोमिटर टाढाको काण्डला बन्दरगाह र ऋणसहितको ठूला अंकको आर्थिक प्याकेजलाई उपलब्धिका रूपमा उचालिएको छ । छोटो दूरीको पूmलबारी–बंगलाबन्ध मार्ग सहज बनाउने विषयभन्दा टाढाको बन्दरगाह र ऋणलाई प्राथमिकता दिँदा मुलुकको क्षेत्रीय अखण्डता र सार्वभौमिकता विकासको आवरणमा साटिएको हो कि भन्ने गम्भीर आशंका उत्पन्न भएको छ ।
ऋण सहायताको विगतको अनुभवले पनि अझ बढी सचेत बनाउँछ । २०७२ सालको भूकम्पका बेला भारतले उपलब्ध गराएको एक अर्ब अमेरिकी डलर (करिब १ खर्ब रुपैयाँ) को सहयोगमा २५ प्रतिशत अनुदान र ७५ प्रतिशत ऋणको व्यवस्था थियो । तर ५० प्रतिशत भौतिक सामग्री भारतीय हुनुपर्ने, ठेकेदार भारतीय नै हुनुपर्ने तथा भारतीय ठेकेदारले ल्याउने निर्माण सामग्री, मेसिनरी र उपकरणमा नेपालले भन्सार महसुल, मूल्य अभिवृद्धि कर (भ्याट) वा स्थानीय कर लगाउन नपाउनेजस्ता सर्तले रकम खर्च गर्न निकै कठिनाइ निम्त्यायो । एक उद्देश्यको ऋण अर्को काममा मुस्किलले खर्च हुने र ठेक्का तथा सामग्री खरिदका नाममा पैसाको ठूलो हिस्सा भारतमै फर्किने अवस्था विगतमा देखिएको थियो । त्यसैले अनुदानभन्दा बढी ऋण र कडा सर्तसहितका घोषणाहरूलाई उपलब्धि मान्नुअघि त्यसको व्यवहारिक प्रभाव र राष्ट्रिय हितको कसीमा जाँच्नैपर्छ ।
प्रधानमन्त्री बालेनको भारत भ्रमण केवल औपचारिकता, स्वागत सत्कार वा ऋण–अनुदानका अंकको फेहरिस्तमा सीमित हुनु हुँदैन थियो । सार्वभौमिकता, सीमा सुरक्षा र समानताका आधारभूत मुद्दामा मौनता साँधेर गरिने कुनै पनि यात्रा राष्ट्रका लागि उपलब्धिमूलक ठहरिँदैन । तसर्थः रक्षात्मक मानसिकता र मौनता त्यागेर सीमा अतिक्रमण, सार्वभौमिकता र असमानताका विषयमा स्पष्ट, दृढ र तथ्यपरक कूटनीतिक अडान लिन नसक्नुले प्रधानमन्त्री बालेनको भारत भ्रमण फुस्सा सावित भएको पुष्टि गर्दछ ।
