देशभरका फिल्म हल खुल्दै

काठमाडौँ । चलचित्र भवन सञ्चालक तथा चलचित्र वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घको बैठकले ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका फिल्म हल सोमबारदेखि खोल्ने निर्णय गरेको छ । आइतबार बसेको उक्त बैठकले दर्शक र चलचित्र भवनको सुरक्षामा ध्यान दिँदै सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
सङ्घका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार तोडफोड र आगजनीबाट ध्वस्त विराटनगरस्थित क्युएफएक्सको भवनबाहेक अन्य सबै चलचित्र भवन सोमबारदेखि नियमित रुपमा सञ्चालन हुनेछन् ।
महर्जनले रात्रिकालीन सोलाई सञ्चालन गर्ने भए पनि राति १० बजेभित्र हल बन्द गर्ने व्यवस्था गरिएको बताए । सोमबारदेखि ‘रिमै’, ‘मोहर’ लगायत नेपाली चलचित्रसँगै केही विदेशी चलचित्र पनि प्रदर्शन हुनेछन् ।
यसैबीच, दसैँको अवसर पारेर फूलपातीदेखि भने तीन नयाँ नेपाली चलचित्र प्रदर्शनमा आउने भएका छन् । जेनजीले भ्रष्टाचार र बेथितिविरुद्ध २३ भदौमा सुरु गरेको आन्दोलनका क्रममा भदौ २४ गते विराटनगरस्थित क्युएफएक्स, बुटवलस्थित क्युएफएक्स, गोङ्गबुस्थित आइएनआईको ल्होत्से मल र भक्तपुरको क्युएफएक्समा क्षति पुगेको नेपाल चलचित्र सङ्घले जनाएको छ ।